नेकपा एमाले नेता सुरेन्द्र पाण्डेले सरकारले संशोधित बजेट ल्याउन हतार गरेको प्रतिक्रिया दिएका छन् ।
संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै पाण्डेले प्रतिपक्षीसंग छलफल नगरि हतारमा सरकारले संशोधित बजेट ल्याएको बताए । सबै दलसँग सल्लाह गरेर यो काम गर्दा पनि उचित हुने भएपछि सरकारले त्यसो गर्न नखोजेको उनले बताए ।
त्यस्तै एमाले सांसद गोकुल बास्कोटाले सरकारले प्रतिपक्षीलाई जानकारी नै नदिई संशोधित बजेट ल्याएको र कार्यसूची समेत हेर्न नदिएको बताए । उनले सभामुखले निर्वाह गर्नुपर्ने भूमिकाबाट चूकेको बताए ।
संशोधित बजेट पेश गरेपछि अर्थमन्त्री जनार्दन शर्माले संवैधानिक व्यवस्था अनुसार संशोधित बजेट ल्याएको बताए । उनले बजेटमा राखिएको अनावश्यक बजेट मात्र कटौती गरिएको जानकारी दिए । उनले योजना बनाएर संशोधित बजेट कार्यान्वयन गर्ने बताए । उनले प्रतिपक्षीसंग पनि छलफल गरेर अध्यादेश अघि बढाउन चाहेपनि बिविध कारण हुन नसकेको बताए ।
शुक्रबार एमालेको बिरोधकाबीच अर्थमन्त्री शर्माले १६ खर्ब ३२ अर्ब ८३ करोड रूपैयाँ बराबरको संशोधन बजेट प्रतिनिधिसभा बैठकमा पेश गरेका थिए।