सवारी साधनको अनलाइन कर भुक्तानीका लागि वाग्मती प्रदेशमा ‘यातायात व्यवस्था सुचना प्रणाली’ को शुभारम्भ गरिएको छ ।
शुक्रबार मकवानपुरको हेटौडामा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले यातायात व्यवस्था सुचना प्रणालीको शुभारम्भ गरेका हुन्। प्रणालीको शुभारम्भ भएसंगै वाग्मती प्रदेशका यातायात सम्बद्ध कर तथा राजस्व घरमै बसेर अनलाइनबाट भुक्तानी गर्न सकिने बताइएको छ ।
सवारी चालक अनुमति शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाट घरमै बसेर पनि भुक्तानी गर्न सकिने प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै सेवाग्राहीले अब सवारीसाधनको राजश्व विवरण घरमै बसेर हेर्न र अनलाइनमार्फत दाखिला गर्न सक्नेछन् ।
कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री पौडेलले प्रदेशमा सुशासनको युग सुरु भएको बताए । उनले अव बिधुतिय बस सञ्चालन गर्नका लागि टेन्डरको आह्वान भइसकेको भइसकेको जानकारी दिए । भीमफेदीदेखि कुलेखानीसम्मको सुरुङमार्गका लागि पनि टेन्डरको प्रक्रियामा जाने उनले बताए ।
वाग्मती प्रदेशमा रहेका १० वटा यातायात सेवा व्यवस्था कार्यालयहरुमध्ये हाल ६ वटा कार्यालयबाट यो सेवाको सुरुवात गरिएको जनाइएको छ । बागमती प्रदेशमा हालसम्म १६ लाख ४७ हजारभन्दा धेरै सवारी दर्ता भइसकेको वाग्मती भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव संजिव बरालले जानकारी दिए ।