आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका छन् ।
नेपालमै व्यवसाय गर्छुभन्दा ऋण नपत्याइएपछि विदेश जान भन्दै ऋण लिएका गुल्मीका शङ्कर भण्डारीको नेतृत्वमा अहिले ११ होटल र रेष्टुराँ छन् । विसं २०३९ मा गुल्मीको तत्कालीन रुपकोटमा जन्मिएका भण्डारीले विसं २०५९ मा आफन्तसँग एक लाख ऋण लिएर साझेदारीमा काठमाडौँको सुन्धारामा होटल शुरु गरे । मान्यजन आफन्तसँग काम गर्दा आफू होचिएको महसुस गरेसँगै उनले नजिकै परिवारले हेर्ने गरी किराना पसल थप गरे ।
पसल सञ्चालनका लागि थोरै पैसा ऋण पाएपछि सोही पैसाले किराना पसल शुरु गरे। पसलमा सामान राख्ने ठाउँ खुल्ला देखिएपछि अन्यत्रबाट खाली कार्टुन ल्याएर ¥याक भरेको उनले स्मरण गरे । उनले भने, “पसल शुरु गर्दा ५० हजार मात्रै थियो, त्यसले सामान धेरै आएन, अन्यत्रबाट कार्टुन ल्याएर पसल भरेँ ।” रु ८० हजार ऋण खोजेर ३० हजारको ¥याक बनाएपछि रु ५० हजारको सामानबाट उनले पसल शुरु गरे । सो पसल शुरु भएको दिनदेखि नै निकै राम्रो व्यापार भएको स्मरण गर्दै उनले भने, “दैनिक रु एक लाख ५० हजारसम्मको व्यापार भयो ।”
आफूलाई भने होटलमै लगाव भएकाले साझेदारीको होटल छाडेर विसं २०६३ मा सुन्धारामै एउटा घर भाडामा लिएर उनले प्रेसिडेन्ट होटल शुरु गरे । होटल शुरुआती अवस्थाको दुःख सम्झँदै उनले भने, “पैसा नभएपछि २० कोठे घरको चार कोठा मात्रै तयार पारेर होटल शुरु गरेँ ।” क्रमशः किराना र होटलको कमाइले उक्त होटल एक वर्ष लगाएर पूर्ण क्षमतामा सञ्चालन गरेको उनले बताए । त्यतिबेला उनसँग एक साझेदार पनि थिए ।
निरन्तरको मिहिनेतसँगै होटलले व्यवसायमा फड्को मार्दै गयो । विसं २०६५ मा सुन्धारामै ४० कोठाको अर्काे घर लिएर उनले होटल शुरु गरे। दुवै होटलको सफलताले उनलाई त्यतिकैमा रोकिन मन लागेन । उनले विसं २०६९ मा रुपन्देहीको लुम्बिनीमा १५ कोठाको होटल शुरु गरे । विसं २०७२ सालमा बालाजुमा २० कोठाको होटल शुरु गरे । होटलको व्यवसाय फस्टाउँदै गएपछि उनलाई रेष्टुराँमा हात हाल्ने हौसला मिल्यो ।
त्यससँगै विसं २०७३ मा सुन्धारामा पे्रसिडेन्ट सेकुवा शुरु गरे । सेकुवाको स्वादले धेरैको मन लोभ्याएपछि उनलाई थप रेष्टुराँ खोल्ने चाहना बढेर गयो । क्रमशः कलङ्कीको रविभवन, महाराजगञ्ज, माछापोखरी र चितवनको भरतपुरमा प्रेसिडेन्ट सेकुवा शुरु भयो । भरतपुरमा सेकुवाको व्यापार शुरुसँगै उनलाई चितवनको ताससँग खेल्न रहर जाग्यो । यही रहरले नारायणगढको पुलचोकमा आजबाट पे्रसिडेन्ट तास बजार शुरु गरेका छन् । चितवनमा प्रख्यात खशीको मासुबाट बनाइने तासलाई विविधिकरण गर्दै उनले कुखुरा, अण्डा र आलुको समेत तासको मेनु ग्राहकसामु ल्याएका छन् ।रासस