साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडले फेब्रुअरी महिनालाई आयोडिनको कमीले हुने बिकृति निबारणसम्बन्धी जनचेतना जगाउन ‘आयोडिन मन्थ’ मनाउने भएको छ।
साल्ट ट्रेडिङले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै युनिभर्सल साल्ट आयोडाइजेशनको सदस्यका नाताले सन् १९९८ देखि फेब्रुअरी महिनालाई आयोडिन मन्थका रुपमा मनाउँदै आएको छ।
यसबर्ष कोभिड १९ का कारण नेपाल कोरोनाको संक्रमणबाट अझै पनि जोखिमपूर्ण रहेकोले स्वास्थ्य मन्त्रालयले निर्दिष्ट गरेको पालना गर्दै विद्यालय, समुदाय एवं गैरसरकारी संघसंस्था, स्थानीय निकाय लगायत नागरिक समाजका व्यक्ति एवं संस्थासँग समन्वय गरी भौतिक दूरी कायम गरी कार्यक्रम संचालन गरिने कर्पोरेशनले जनाएको छ।
आयोडिनको कमीबाट हुने शारीरिक एवं मानसिक कमजोरीका सम्बन्धमा जनचेतनामूलक कार्यक्रमहरुबाट जानकारी दिन शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी तथा जनसमुदायहरुलाई स्वास्थ्यचौकीहरुमा कार्यक्रम, विद्यालयमा कार्यक्रम, हाटबजारमा माइकिङ, चेतनामूलक सामग्री बितरण, प्रदर्शनी कक्ष राख्ने जस्ता गतिबिधि महिनाभरी संचालन गरिने कर्पोरेशनले जनाएको छ।
आयोडिन मन्थमा आयोडिन सम्बन्धी चेतनामूलक सन्देश लेखिएको सपिङ झोला, स्कुल झोला, टीसर्ट, पम्प्लेट तथा फेस मास्क जस्ता सामग्री बितरण गर्न बिभिन्न विद्यालय तथा हाट बजारमा टोली खटाउनुका साथै आयोडिनको महत्वबारे जनचेतनामूलक कार्यक्रम संचालन गर्ने कर्पोरेशनले जनाएको छ।
बिगत ५७ बर्षदेखि कर्पोरेशनले देशभर आयोडिनयुक्त नुन आपूर्ति गर्दै आएको छ। ग्रामीणस्तरसम्म आयोडिन सम्बन्धी जनचेतनामूलक गतिबिधिका साथै दुई बालबालिका चिन्ह अंकित पाकेट नुन सुलभ मूल्यमा बिक्री बितरण तथा जनचेतनामूलक कार्यक्रम संचालन गर्दै आएको छ।