धनकौल गाउँपालिकामा रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल सम्पर्कविहीन भएका छन्। अग्रवाल केही दिनयता आफूहरुको सम्पर्कमा नरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।
अग्रवालकाे खातामा रकम भए पनि उनी सम्पर्कमा नरहेका कारण उखु किसानकाे भुक्तानी हुनसकेको प्रजिअ पाैडेलले बताए । उद्योगले दिएको जानकारी अनुसार उखु उत्पादक किसानको करिव १७ करोड पुरानो बक्यौता मिलले तिर्न बाँकी रहेको थियो ।
यसैबीचमा रु ११ करोड १६ लाख उद्योगले किसानलाई भुक्तानीसमेत गरिसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए। उद्योगपतिको बैंक खाता रोक्का गरी उद्योगपतिलाई उखु उत्पादक किसानकै खातामा रकम हाली दिन प्रशासन र प्रहरीले संयुक्त रुपमा पहल गरेको थियो । अहिले पनि उद्योगपति अग्रवालको बैँक खातामा एक करोड ७३ लाख रहेको छ ।
उद्योपति सम्पर्कविहीन हुँदा किसानले पैसा पाएनौं भन्दै गुनासो गरिरहनुभएको प्रमुख राठौरले बताए। उद्योगपति सम्पर्कमा नआउने अनि किसान दिनहुँजसो भुक्तानी पाएनौं भन्दै प्रशासन कार्यालय घेराउ गर्न आउने गतिविधिले आफू निकै अफ्ठ्यारोमा परेको प्रजिअ पौडेलको भनाइ छ ।
अन्नपूर्णसहित मुलुकभरका चिनी उद्योगले किसानको बक्यौता भुक्तानी नगरेपछि सरकारले उद्योगपतिको बैंक खाता रोक्का गर्ने, चिनी बिक्रीमा नियन्त्रण गर्नेलगायत उपाय अपनाएको थियो । उद्योगपतिहरुले भने किसानको भुक्तानी दिन आलटाल गर्दै आएका छन् ।