राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीहरुले आज भेट गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज भएको भेटका अवसरमा राष्ट्रपतिले महासङ्घको नवनिर्वाचित पदाधिकारीलाई बधाई दिनुुहुँदै सफल कार्यकालको सफलताका लागि शुभकामना दिएको महासङ्घले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
राष्ट्रपतिले महासङ्घको वर्तमान युवा नेतृत्वलाई उद्योग व्यवसायको विकासमार्फत रोजगारी सिर्जना, आत्मनिर्भर अर्थतन्त्र निर्माणमा लाग्न सुझाव दिइन् ।चुलिँदो व्यापार घाटाप्रति पनि राष्ट्रपतिले चिन्ता व्यक्त गरेकाे महासङ्घले प्रेस नोटमा जनाएको छ । स्वदेशी लगानी आकर्षण गर्नेतर्फ राज्यको प्रमुख प्राथमिकता हुनुपर्ने बताउँदै त्यसो भएमात्र बाह्य लगानीसमेत आकर्षित हुने हुँदा कृषि, ऊर्जा, पर्यटन क्षेत्रको विकासमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार निजी क्षेत्र सहकार्यमा राष्ट्रपतिले जोड दिइन्।
अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा निवर्तमान अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ, रामचन्द्र सङ्घई र कोषाध्यक्ष सुकुन्तलाल हिराचनसहितको पदाधिकारी प्रतिनिधिमण्डलले राष्ट्रपतिसमक्ष महासङ्घको नयाँ नेतृत्वले निजी क्षेत्र र समुन्नत मुलुक निर्माणका लागि विशेष लक्ष्यसहितको ‘भिजन पेपर’को तयारीमा लागेको जानकारी गराएको थियो ।
अध्यक्ष गोल्छाले लाखाँै युवा बेरोजगार रहेको र उनीहरूको व्यवस्थापन यतिखेर मुलुककै लागि चुनौती रहेको सन्दर्भमा महासङ्घको भिजन पेपरले वार्षिक चार लाख युवाका लागि रोजगारी सिर्जना गर्ने र दोहोरो अङ्कको आर्थिक वृद्धिको लक्ष्य लिएको स्पष्ट पारे ।
उनले साना तथा मझौला उद्यमलाई कोभिड–१९ को प्रभावबाट बाहिर ल्याउन सबैभन्दा बढी सहयोग आवश्यक हुने भन्दै यसका लागि पुनरोत्थान विशेष कार्यक्रमको खाँचो औँल्याए। साना मझौला व्यवसाय चल्न सके भने ठूला उद्योग स्वतः चल्ने हुँदा सरकार तथा राष्ट्र बैंकले ल्याएका राहतका कार्यक्रमको प्रभावकारी कार्यान्वयन निजी क्षेत्रले खोजेको बताए। उनले कोभिडका कारण मुलुकको आर्थिक वृद्धिदर एक प्रतिशतभन्दा कम हुने प्रक्षेपण भइरहेको सन्दर्भमा समग्र अर्थतन्त्रलाई थप बिग्रन नदिन सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेकामा जोड दिए ।