नेपालमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि निजी हवाई सेवा प्रदायकहरुले पर्वतीय उडानलाई तिव्रता दिएका छन्। बन्दाबन्दीको करिब आठ महिनापछि गत मङ्सिर २० गतेदेखि नियमित पर्वतीय उडान शुरु भएको थियो।
महामारीका कारण विदेशी पर्यटक नभए पनि आन्तरिक पर्यटकलाई लक्षित गर्दै निजी क्षेत्रका ठूला वायुसेवा कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले पर्वतीय उडान शुरु गरेका हुन्।
पर्वतीय उडानमा पर्यटकहरुले दोर्जेलाक्पा, गौरी–शङ्कर हिमाल, नुम्बर, चोयु, पुमोरी हुँदै सगरमाथा हिमाल तथा ल्होत्से, अमादब्लम हुँदै मकालु हिमाल अवलोकन गर्न पाउँछन्।
यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले शुरुआती पर्वतीय उडान उत्साहवद्र्धक रहेको र यात्रुको मागबमोजिम उडान संख्या पनि क्रमशः थपिँदै जाने बताए। आन्तरिक पर्यटकको संख्या बढेको भन्दै उनले अव साताको दुई दिन शनिबार र आइतबार पर्वतीय उडान गर्ने जानकारी दिए। आन्तरिक पर्यटकहरुले कोरोनापछि पर्वतीय उडान मार्फत बिभिन्न हिमश्रृंखलाको अवलोकन गर्न पाउदा खुसी व्यक्त गरेका छन्।
पर्वतीय उडानमा यात्रुको उत्साहवद्र्धक माग बढ्पछि सेवा प्रदायक कम्पनीले काठमाडौं बाहेक सिमराबाट पनि पर्वतीय उडान सुरु गरेका छन्। पर्वतीय उडानमा एक टिकट खरिदमा अर्को टिकट सित्तैमा पाउने अफर ल्याएका कारण यात्रु बढेको एयरलाइन्सले जनाएका छन्।