तीनकुनेस्थित वाग्मती पुल नयाँ ठेक्कामार्फत निर्माण हुने भएको छ । यसका लागि सरकारले तयारी अन्तिमचरणमा पु¥याएको छ । निर्माण व्यवसायीको लापरवाही कारण सो पुल धेरै वर्षसम्म अवरुद्ध बनेको थियो ।
यसअघि निर्माणमा संलग्न कम्पनी पप्पु कन्स्ट्रक्सन प्रालिसँगको ठेक्का सम्झौता अन्त्यगरेसँगै नयाँ प्रक्रियाबाट निर्माण गर्न लागिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । अबको केही दिनमा नै सूचना प्रकाशित गरिने आयोजना प्रमुख गुरु अधिकारीले जानकारी दिए ।
उहाँका अनुसार सो पुल ‘डिजाइन एण्ड बिल्ड’ (निर्माण कम्पनी आफैँले डिजाइन गर्ने गरी भएको सम्झौता) का आधारमा निर्माण शुरु भएको थियो । पहिले कम्पनीले तयार गरेको ढाँचामा नै निर्माण गरिने उनले जानकारी दिए ।यसअघि निर्माणको काम गरेको कम्पनीसँग ठेक्का अन्त्य गरेकाले नयाँ प्रक्रियामा जान बाटो खुलेको आयोजना प्रमुख अधिकारीले बताए।
सरकारले यसअघि नै कम्पनीले निर्माणका लागि लिएको दुई किसिमका बैंकको जमानत फिर्ता लिइसकेको छ । कार्यसम्पादन जमानतमार्फत राखिने पाँच प्रतिशत रकम सरकारको खातामा फिर्ता ल्याइएको उनले बताए । मोबाइलाइजेसन काम गर्न आवश्यक रकम पेश्की पहिले कम्पनीलाई उपलब्ध गराएकोमा त्यो पनि फिर्ता भइसकेको उनले बताए ।
नयाँ ठेक्का सम्झौतामा गएपछि पनि निर्माणको लागि साढे दुईदेखि तीन वर्ष लाग्ने आयोजनाले जनाएको छ । रासस