साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से ७५ अंकले बढेको छ। योसँगै नेप्सेले १९६८ अंकको नयाँ रेकर्ड बनाएको छ। यसअघि बिहीबार १८९३ अंकको उच्च रेकर्ड बनाएको थियो।
नेप्सेले हालसम्मकै उच्चतम अंकको रेकर्ड बनाइरहँदा कारोबार रकममा पनि उछाल आएको छ। आइतबार ९ अर्ब २२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। एकै दिन यति धेरै रकम बराबरको शेयर कारोबार भएको यो पनि हालसम्मकै उच्च हो। आइतबार २ करोड ५९ लाख बढी कित्ता सेयर किनबेच भएको छ।
पछिल्ला दिनमा अन्य समूहको मूल्य बढेको भए पनि वाणिज्य बैंकहरु (बैंकिङ समूह) को बढ्न सकेको थिएन। बैंकिङ समूहको सेयर मूल्यमा अत्याधिक वृद्धि हुँदा समग्र नेप्से परिसूचकमा उछाल आएको हो।
कतिपय बैंकमा १० प्रतिशत बढेको मूल्य तिर्न खोज्दा पनि लगानीकर्ताले सेयर खरिद गर्न पाएका छैनन्। यस दिन १ दर्जनभन्दा धेरै वाणिज्य बैंकहरुको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ।
आइतबार इन्भेष्टमेन्ट र सेन्चुरी कमर्सियल बैंकको मूल्य १० प्रतिशतले बढेको छ। सनराइज, माछापुच्छ्रे, नेपाल बंगलादेश, प्रभु, मेगा, कुमारी, ग्लोबल आइएमई, सिटिजन्स, लक्ष्मी, हिमालय, एनसिसी र सिभिल बैंकको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ।