वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वका बेला हुनसक्ने ठगी नियन्त्रण गर्न निरन्तर बजार अनुगमन गरिरहेको जनाएको छ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले सही सूचनाको आधारमा निरन्तर बजार अनुगमन भइरहेको बताए। अनुगमन गर्नको लागि अन्य विभाग र निकायसंगको समन्वय पनि आवश्यक रहेको उनको भनाई थियो। सुवेदीले अहिले विभागले बजार अनुगमनमा जाने टोलीको आचारसंहिता मस्यौदा तयार पारेको बताए।
उनले केही दिनयता काठमाडौंमा म्याद सकिएका समाग्री बजार पठाउने कम्पनीमा सिल भएको भन्दै यस बिषयमा कानून अनुसार अघि बढ्ने बताए।
त्यस्तै, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सुशासन कायम गर्न निरन्तर रुपमा काम भइरहेको दावी गरे। उनले कालाबजारी, ठगी गर्दै उपभोक्तमाथिको स्वास्थ्यमा खेलवाड गर्नेलाई कानूनअनुसार कारवाही हुने प्रतिवद्धता जनाए।
कार्यक्रममा सहभागीहरुले चाडपर्वका बेला हुनसक्ने कालाबजारी, ठगी जस्ता कार्यलाई निरुत्साहन गर्न सवै पक्ष एक भएर लाग्नुपर्नेमा जोड दिएका थिए।