नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पदाबधि पूरा हुनै लाग्दा उनको उत्तराधिकारीको खोजी शुरु भएको छ। एकथरीले घिसिङको निरन्तरताको कुरा गरिरहेका छन् भने कतिपय नयाँ नेतृत्वको पक्षमा छन्। नयाँ नेतृत्वको पक्षमा कुरा गर्नेहरु पनि कतिपय प्राधिकरणकै अनुभवी र दक्ष व्यक्तिको पक्षमा छन् भने एकथरी बाहिरबाट ल्याउनु पर्ने पक्षमा। जे होस् कुलमानको उत्तराधिकारी बन्नका लागि प्राधिकरण भित्र र बाहिरको दौडधुपमा बाक्लै हुन थालेको छ।
विद्युत् विकास विभागका महानिर्देशक नविनराज सिंह, प्राधिकरणकै उपकार्यकारी निर्देशकद्वय हरराज न्यौपाने र हितेन्द्रदेव शाक्य, पूर्वउपकार्यकारी निर्देशक शेरसिंह भाट र शान्तिलक्ष्मी शाक्य, विद्युत् उत्पादन कम्पनीका प्रबन्ध निर्देशक मोहनराज पन्तसहित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको नाम चर्चामा छ।
विभागका महानिर्देशक सिंह अनुभब, योग्यता र क्षमताका आधारमा अगाडि देखिएका छन्। प्राधिकरणलाई बुझ्नेहरु सिंहलाई परिणाम देखाउन सक्ने कर्मचारीका रूपमा हेर्छन्।
कुशल प्रशासकको रूपमा चिनिएका सिंहलाई तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माले विभागमा नियुक्ति गरेका थिए। शर्माको पालामा घिसिङ वा सिंहमध्ये कसलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउने भन्ने लामो छलफल भएको थियो। अन्ततः घिसिङले बाजी मारे पनि सिंहलाई मन्त्री शर्माले बिभागको महानिर्देशकको जिम्मेवारी दिएका थिए। केही समय बिभागमा काम गरेका सिंहलाई मन्त्रालय तानिएको थियो। पछिल्लो समय उर्जामन्त्री बर्षमान पुनले सिंहलाई पुनः बिभागको महानिर्देशक बनाएका हुन्। यस हिसावले बिभागमा सिंहको यो दोस्रो कार्यकाल हो। उर्जामन्त्री पुन पनि सिंहको कार्यशैलीबाट सन्तुष्ट रहेको बताइन्छ।
विभागमात्र होइन, सिंह मन्त्रालयमा पनि परिणाम देखाउन सक्ने व्यक्तिका रूपमा चिनिन्छन्। अर्कातिर निजी क्षेत्रका जलविद्युत प्रबर्तकहरुमाझ पनि सिंहको इमेज राम्रो भएको बताइन्छ। उनीहरु समयमै काम फत्ते पार्ने कर्मचारीका रुपमा सिंहलाई चिन्दछन्। राजनीतिक आस्थाका हिसाबले उनी खासै कहिंकसैसँग निकट देखिएका छैनन्। तर पनि उनको नाम सत्तासीन दलका शीर्ष नेतामाझ निजी क्षेत्रमा प्रबद्र्धकहरुले बारम्बार अघि सार्ने गरेका छन्।
कार्यकारी निर्देशकका अर्का आकांक्षी शेरसिंभाट प्राविधिकका सक्षम इन्जिनियर हुन् भने शान्तिलक्ष्मी शाक्य एकमात्र महिला दाबेदार हुन्। अर्का आकांक्षी ज्ञवाली पहिलो पटक केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पुनर्निर्माण प्राधिकरणमा नियुक्त भएका थिए। ओली दोस्रो पटक प्रधानमन्त्री भएपछि उनी फेरी त्यहीँ फर्किएका थिए।
नियमित र गुणस्तरीय विद्युत आपूर्ति नयाँ नेतृत्वको प्रमुख चुनौती हो। यसका साथै दशकौंदेखि पूरा हुन नसकेका प्रसारण लाइन निर्माणको काम फत्ते पार्नु नयाँ नेतृत्वको अर्को चुनौती हो।