नेपालमा कोभिड–१९ को सङ्क्रमण दिनप्रतिदिन बढ्दै छ । अहिलेसम्म १८ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् भने पाँच हजारभन्दा बढी अझै पनि उपचाररत छन् ।
तेह्र हजारभन्दा बढी व्यक्ति निको भएर घर फर्किसकेका छन् । तर सङ्क्रमणको जोखिमका कारण गत चैत ११ देखि शुरु गरिएको बन्दाबन्दी भने विस्तारै खुल्दैछ । लामो समयपछि सरकारले यही साउन ५ गतेबाट लामो दुरीका यातायात, हवाईसेवा र शिक्षण संस्था बाहेकका क्षेत्रमा बन्दाबन्दी हटाएको छ ।
काठमाडौँलाई बन्दाबन्दीबाट खुला गरी आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने रणनीति सरकारले लिएको छ । होटल तथा रेष्टुरेन्ट र पर्यटनका सामान्य क्षेत्र यही साउन १५ गतेपछि खुल्दैछन् भने भदौ १ देखि लामो दूरीका सवारी साधनका साथै हवाईसेवा पनि शुरु गर्ने सरकारले जनाएको छ । यद्यपि अझै केही महत्वपूर्ण सार्वजनिकस्थलका साथै सभा सम्मेलन, भोजभतेर, सेमिनारलगायतका कार्यक्रम सञ्चालनको निर्णय हुन भने बाँकी नै छ ।
नेपाल सरकारका प्रवक्ता डा युवराज खतिवडाले दैनिक जनजीवन नै थप प्रभावित हुँदै गएकाले सहज बनाउन मात्रै बन्दाबन्दी हटाएको बताएका छन् । उनको भनाइको आशय जोखिम कम भएर सरकारले बन्दाबन्दी हटाएको होइन भन्ने हो ।
विभिन्न जिल्लामा र काठमाडौँमासमेत पछिल्लो समयमा कोभिड– १९ का सङ्क्रमित देखिने क्रम बढ्दै गएको छ । बन्दाबन्दी हटेपछि आर्थिक गतिविधि चलायमान हुन्छ र मानिसको जमघट बढ्न थाल्छ । सरकारले बन्दाबन्दी खुला गरेसँगै आर्थिक गतिविधि त बढ्छ तर सङ्क्रमणको जोखिम पनि उत्तिकै बढ्ने देखिन्छ । नेपाल चिकित्सक सङ्घका उपाध्यक्ष डा अनिल कार्की चहलपहल बढ्दा कोरोनाको जोखिम पनि बढी हुनु स्वभाविक हो भन्छन् ।
त्यसैले अझै बढी सावधानी अपनाउनुपर्ने उनको सुझाव छ । कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको क्षेत्र यातायात र पर्यटन व्यवसाय नै हो । छोटो दूरीका यातायात खुला भएको छ भने साउन ५ को मन्त्रिपरिषद निर्णयले यही साउन १५ देखि पर्यटन, ट्रेकिङ्, ट्राभल तथा पर्वतारोहण पनि खुला गर्ने निर्णय गरिसकेको छ ।
दोस्रो प्रभावित भएको क्षेत्र (लामो दूरीको सार्वजनिक सवारी) पनि भदौ १ गतेदेखि सञ्चालनमा ल्याउने सरकारको निर्णय आएको छ । भदौ १ देखि विद्यार्थी भर्ना, परीक्षा र शैक्षिक गतिविधिसमेत सञ्चालन हुँदैछ ।
सोही दिनबाट आन्तरिक र बाह्य व्यावसायिक हवाई उड्यान खुला गर्ने निर्णय पनि सरकारले गरेको छ । ती क्षेत्रमा मानिसको बढी भीडभाड हुने भएकाले स्वास्थ्य चुनौती बढी हुन्छ र अहिलेको भन्दा अझै सावधानी अपनाउनुपर्छ भन्छन् विज्ञहरु ।