नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघ नेतृत्व विहिन बनेको भन्दै विधविधानको परिपालना हुने छोडेको आरोप लगाएका छन्।
यहि साउन २६ र २७ गतेका लागि निर्धारण गरिएको साधारणसभा र निर्वाचन महासंघको पदाधिकारीको बैठकले स्थगित गर्ने निर्णय गरेपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै ढकालले चर्को असन्तुष्टि व्यक्त गर्दै महासंघमा विधि विधानको पालना हुन छोडेको आरोप लगाएका हुन्।
जटिल परिस्थितिमा महासंघलाई सबल, सक्षम र डाइनामिक नेतृत्वको आवश्यकता रहेको आवाज उठाउदा पदमा पुग्न हतार गरेको आरोप लगाउने काम भएको उनले गुनासो गरे। ढकालले महासंघको केन्द्रीय समिति बैठकले निर्णय गर्नुपर्ने विषय हतारहतार पदाधिकारी बैठकले गरिएको भन्दै त्यसमा आफ्नो फरक मत रहेको पनि धारणा राखे। आफू अहिले पनि उपाध्यक्ष रहेकोले चैतमा निर्वाचन भए पनि आफूले निभाउने भूमिकामा धेरै फरक नपर्ने उनको भनाई थियो।
यसअघि बिहीबार बसेको महासंघको पदाधिकारी बैठकले कोरोना महामारीको जोखिम देखाउदै पूर्ब निर्धारित महासंघको ५४ औँ साधारणसभा स्थगित गर्ने निर्णय गरेको थियो।