साउन अन्तिम साता नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि काठमाडौंमा हुने साधारण सभामा उपाध्यक्ष चन्द्र ढकालले प्यानलसहित वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।
मंगलबार काठमाडौंमा ढकालले आफ्नो समूहबाट उद्योग वाणिज्य संघ समूहको उपाध्यक्षका लागि गुणनिधि तिवारी, वस्तुगत संघ समूहबाट उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ र एशोसिएट सदस्य समूहको उपाध्यक्षका लागि रामचन्द्र संघईको उम्मेदवार भएको घोषणा गरेका हुन्।
महासंघमा नयाँ नेतृत्वका रुपमा आउने आफ्नो टिमले कोरोनाबाट सिर्जना भएका चुनौतीलाई मात्रै परास्त गर्ने र आर्थिक रुपमा समुन्नत नेपालका पक्षमा पनि काम गर्ने उनले बताए। उम्मेदवारी घोषणा गर्दै ढकालले कोरोना भाइरसले सिर्जना गरेको चुनौती सबैको सामूहिक प्रयासमा पार लगाउने पनि दावी गरे। निजी क्षेत्र आर्थिक विकास र रोजगारी सिर्जनाको बलियो इन्जिन भएको भन्दै ढकालले यो इन्जिनलाई चलाउन निजी क्षेत्रको सक्रिय सहभागिता अनिवार्य भएको उल्लेख गरे।
महासंघलाई ठूला उद्यमीहरुको मात्रै नभई साना र मझौला उद्योगी व्यापारीको पनि साझा चौतारीका रुपमा स्थापित गर्न प्रयास गर्ने उनको भनाई थियो।
यहि साउन २६ र २७ गते हुने ५४ औंँ वार्षिक साधारणसभाले महासंघको नयाँ नेतृत्व चयन गर्दैछ । महासंघमा वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने प्रावधान अनुसार शेखर गोल्छाको नेतृत्वमा नयाँ कार्यसमिति चयन हुदैँछ।