नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति तयारीको अन्तिम चरणमा पुर्याएको छ ।
सो नीतिका सन्दर्भमा आज सङ्घीय संसद्को अर्थ समितिले राष्ट्रबैंकका गभर्नरसहितलाई बोलाएर नीतिका विशेषता र प्राथमकितामा बारेमा छलफल गर्यो । कोरोना महामारीले समस्यामा पारेको अर्थतन्त्रलाई उकास्ने ध्येयका साथ नीति आउने धेरैको अपेक्षा छ । उद्योग व्यवसाय कोरोनाको कहरमा परेको छ । नागरिकका आर्थिक स्रोतमा समेत समस्या पैदा भएको छ । विशेष गरी पर्यटन उद्योग र सार्वजनिक यातायात समस्यामा परेको छ ।
आगामी आर्थिक वर्षको बजेटले कोरोनाले पारेको समस्याका बारेमा केही सम्बोधन गर्ने प्रयास गरे पनि केही विषय भने मौद्रिक नीतिलाई नै छाडिदिएको छ । यसै सन्दर्भमा अर्थ समितिको आजको बैठकमा आम नागरिकको अपेक्षालाई सम्बोधन गर्ने शैलीमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भने, “नीतिले कोहीकसैलाई पनि निराश बनाउँदैन । हामी सबैलाई समेट्ने प्रयासमा लागेका छौँ ।”
उनले कोभिड– १९ का कारण वित्तीय क्षेत्रमा परेको प्रभावलाई न्यून गर्नेगरी सबैलाई खुशी बनाउने खालको नीतिको तयारीमा आफुहरु रहेको र जनताको सर्वोच्च निकायको रुपमा रहेको संसद्बाट पाउने सुझाव आफूहरुका लागि महत्वपूर्ण रहेको बताए ।
उनले मौद्रिक नीतिले समग्रमा अर्थतन्त्रको गति बढाउने र वित्तीय स्थायित्व दिने खालको वातावरण बनाउने स्पष्ट पारे । सरकारले गत चैत ११ गतेदेखि देशव्यापी लकडाउन घोषणा गरेका कारण बैंकिङ क्षेत्रमा नयाँ अवसरसमेत सिर्जना भएको र विद्युतीय कारोवारमा समेत वृद्धि भएको जानकारी दिए ।
लकडाउनले नयाँ अवसरकोसमेत खोजी गरेकामा प्रसन्नता व्यक्त गर्दै उनले विद्युतीय कारोवार दोब्बर भएको तथ्याङ्कसमेत पेश गरे। कोरोनाको रोकथामका लागि संसारभर नै अवलम्बन गरिएको लकडाउनका कारण विश्व अर्थतन्त्र प्रभावित भएको र त्यसको प्रभाव नेपालमा समेत परेको गभर्नर अधिकारीको भनाइ छ ।