कोरोना भाइरसका कारण मुलुकको हर क्षेत्र ठप्प भएको करीब चार महिना बित्न लागेको छ । सरकार कतैबाट पनि राजस्व संकलन हुन नसक्दा भएको ढुकुटी पनि रित्तिने पो हो कि भन्ने चिन्तामा छ ।
तसर्थ सरकारले कारोनाको त्रासकोबीचमा नै व्यापार व्यावसाय, कल कारखानालगायतका आर्थिक क्षेत्र चलायमान हुनेखालका वित्तिय संस्थाहरु खोल्न अनुमति दिएको छ।
सरकारका निम्ति सबैभन्दा बढी राजस्व संकलन गर्ने निकाय मानिएको यातायात व्यवस्था कार्यालयका कर काउण्टरहरु पनि खोलिएका छन् । लकडाउनले आयआर्जनका बाटोहरु बन्द हुँदा पनि मानिसहरु पैसा जुटाएर भएपनि आफ्ना सवारी साधनको वार्षिक कर तिर्न धाएका छन् ।
पैसा हुनु नहुनु आफनो ठाउँमा छ तर कर तिर्न कार्यालयको गेटैमा पुगेकालाई नफर्काउने रणनीति अपनाउनुको साटो टोकन सकियो भन्दै फर्काइदा उपभोक्ताहरु दिक्क मान्दछन्।
मुलुकमा सार्वजनिक सवारी साधन नचलिसकेको अवस्था र मोटरसाइकलमा पनि जोर बिजोर लागू भएकाले पैसै तिर्नका लागि पटक पटक धाइरहन अप्ठयारो भएको कतिपयको भनाई थियो ।
एकतिर सरकार राजस्वको लागि कार्यालयहरु खोल्ने अर्को तर्फ यातायात व्यवस्था कार्यालय सानो भ¥याङमा अपनाइएको टोकन व्यवस्थाले त्यहा पुगेकाहरु दिक्क छन् । पैसा तिर्न जानेलाई अरु केही गर्न नसके पनि सहजता मात्र गर्दिए पनि राहत हुने लाइनमा बसेकाहरुको गुनासो छ ।
सरकारले संक्रमणलाई ध्यानमा राख्दै कार्यालयहरुमा दुई सिफ्टको व्यवस्था गर्ने कुरा गरिरहेको छ भने अर्को तर्फ खोलिएकाले पनि राम्रोसँग सेवा दिन नसक्दा यसको असर स्वयं सरकारलाई नै परिरहेको छ।
यहाँ दैनिक बाडिने तीनसय वटा कुपन भित्र आफूलाई पार्न मानिसहरु विहान पाँच बजे नै लाइन बस्न यातायात कार्यालयको ढोकामा पुगेकाहरु पनि भेटिए ।
सरकारी कर्मचारीहरु भात खाएर ढल्किदै कार्यालय आइपुग्दा लाइन निकै लामो भइसकेको हुन्छ । पैसा तिर्नका लागि दिइने टोकन आफूले पाउने हो कि नपाउने हो भनेर लाइनमा बसेकाहरु पटकपटक लाइन गनेर बस्ने गरेको पनि देखियो ।
कर तिर्न बसेकाहरुको लाइन हर्ने हो भने कोरोना संक्रमणको जोखिम डरलाग्दो देखिन्छ । एक मिटर त परै जाओस् एक फिटको दूरी कायम गर्नेसम्मको पनि सुरक्षा अपनाइएको देखिदैन । सरकारले यस तर्फ बेलैमा ध्यान नदिने हो भने यातायात व्यवस्था कार्यालय अगाडिका यी लाइनहरु कोरोना बम नबन्ला भन्न सकिन्न।
यहाँ लाइनमा बसेका अधिकाश मानिसहरु पहिले जाँदा व्यर्थ भएपछि दोस्रो पटक आएको बताउँछन् । मूल सडकमा लाइन बस्नुपर्दाकोे पीडा छुट्टै छ ,धुवाँ,धुलो र घामपानीको त कुरै छाडौं ।