पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७७।७८ को बजेट कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न नसक्ने बताएका छन्।
अर्थमन्त्रीले बजेट प्रस्तुत गरेपछि संसद भवनबाट बाहिरिने क्रममा पत्रकारलाई प्रतिक्रिया दिँदै डा. भट्टराईले भने ‘२२ अर्ब रुपैयाँबाट यति ठूलो संकटको उपचार गर्छु भन्ने असम्भव कुरा हो । फोकस पुगेन ।’
सरकारले चालु आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा ६८ अर्ब रुपैयाँ विनियोजन गरेको थियो भने आगामी आर्थिक वर्षमा ९० अर्ब रुपैयाँ विनियोजन गरेको छ। गत वर्षभन्दा २२ अर्ब रुपैयाँमात्र बढी विनियोजन गरेर कोरोना महामारीको समस्या समाधान गर्न नहुने उनको भनाई छ।
सरकारले अप्ठेरो समयमा पनि विगतकै निरन्तरतामा बजेट ल्याएको भन्दै भट्टराईले भने ‘बजेट निरन्तरतामा आयो यसले समस्या समाधान गर्दैन, राहत, सामाजिक सुरक्षा कनिका छरेजस्तै आयो।’ भट्टराईले यो बजेट क्यान्सरको रोगीलाई सामान्य झारफुक गरेजस्तो भएको टिप्पणी गरे।
अहिलेको संकटमा रेल र पानीजहाजको कुरा गर्न आवश्यक नरहेको पनि भट्टराईले बताए । ‘अहिले रेलको कुरा किन चाहियो, यो वर्ष नगरे हुँदैन ?’ उनले प्रश्न गरे ‘पानीजहाजको कुरा फेरि आएको छ । यसले अहिलेको संकट समाधान गर्दैन ।’