तत्काल इन्धनको मूल्य घट्दैन विश्वव्यापीरूपमा नै इन्धनको मूल्यमा ठूलो गिरावट आएपनि वस्तुगत धरातलमा रहेर हेर्दा तत्काल मूल्य समायोजन गर्ने पक्षमा सरकार देखिएको छैन ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले तत्काल सरकारले इन्धनको मूल्यमा के–कसरी समायोजन गर्ने भन्ने विषयमा छलफल भएपनि आवश्यक निर्णय भने नभएको बताए।
नेपाल आयल निगमले कमाएको नाफा कोरोना उपचार कोषमा पठाइएको उनको भनाइ छ । “माग पनि कम भएकाले नाफा पनि कम नै भएको छ, प्राप्त भएको नाफा पनि कोरोना कोषमा जम्मा गरिएको छ । जसका कारण मूल्य नघटाएको हो”, उनले भने । निगमले सोमबार मात्रै कोरोना कोषमा रु ५० करोड रकम जम्मा गरेको मन्त्री भट्टले जानकारी दिए ।
उनले अवस्था सहज हुने अवस्थामा भने आफूहरुले उपयुक्त निर्णय लिने बताए। भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई मे १ तारेखमा पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले खरिद गर्ने सबै पेट्रोलियम पदार्थमा नाफा छ ।