सरकारले चीनतर्फका दुई नाका खुलाउने निर्णय गरेको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बुधबारको बैठकले चीनबाट समान आयात,निर्यात गर्ने गरी रसुवागढी र तातोपानी नाका खुलाउने निर्णय गरेको हो।
‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने,’ निर्णयमा भनिएको छ, ‘यस सम्बन्धी आवश्यक समन्वय गृह मन्त्रालय र अर्थ मन्त्रालयले गर्ने।’
कोरोना भाइरसको संक्रमणपछि रसुवागढी र तातोपानी नाका बन्द छ।
गत सोमबार अर्थमन्त्री युवाराज खतिवडाले आपूर्ति प्रणाली सहज गराउन चिनतर्फको नाका खोल्न छलफल गरिरहेको बताएका थिए। नयाँ वर्षको अवसर पारेर गत माघ १५ देखि चिनियाँ पक्षले केही दिनका लागि यी नाका बन्द गरेको थियो।