सरकारले कोरोना भाइरस संक्रमणलाई लक्षित गरी दैनिक उपभोगका वस्तु सहजरुपमा उपलब्ध गराउन सुपथ मूल्यका पसल सञ्चालन गर्ने भएको छ।
संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा कोरोना भाइरस संक्रमणको जोखिमबारे मंगलबार भएको छलफलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुपथ मूल्यका पसल खोल्न लागेको जानकारी दिएका हुन्।
खाद्यान्नको सस्तो पसल निश्चित ठाउँमा खोल्ने तयारी खाद्य संस्थान र साल्ट ट्रेडिङ कर्पोरेसनले गरिरहेको उनले बताए। यसका साथै, मोबाइल पसलहरु पनि सञ्चालन गर्ने सरकारको तयारी रहेको भन्दै उनले यसले मूल्यवृद्धि र अभाव सिर्जना रोक्ने दाबी गरे।
मन्त्री भट्टले ७७ वटै जिल्लामा गृहमन्त्रालयसँग समन्वय गरेर कालोबजारी गर्नेलाई कानुन दायरामा ल्याउने काम भइरहेको पनि उल्लेख गरे। खाद्यान्न, औषधि, ग्यास, पेट्रोलको कुनै अभाव नरहेको भन्दै उनले नेपाल आयल निगमले शनिबार दिउँसो १ बजेसम्म पेट्रोल डिपो खोल्ने जानकारी दिए।
बैठकमा बजारमा दैनिक उपभोग्य समानमा भइरहेको कालोबजारी रोक्न, आपूर्ति ब्यवस्थालाई सहज बनाउन र प्रभावकारी अनुगमन मार्फत गुणस्तरीयता कायम गर्न सरकारी निकायलाई निर्देशन दिएको समिति सभापति बिमल प्रसाद श्रीवास्तवले जानकारी दिए। त्यस्तै कालोबजारी गर्नेलाई कडा भन्दा कडा कारवाही गर्न पनि सरकारलाई निर्देशन दिइएको उनले उल्लेख गरे।
बैठकमा सांसदहरुले खुलेआम कालोबजारी भएपनि यसलाई नियन्त्रण गर्न चासो नदेखाएको भन्दै सरकारको आलोचना गरेका थिए।