अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ।
निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटाएको हो। योसंगै अब पेट्रोलको मूल्य काठमाडौंमा प्रतिलिटर १०६ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ कायम भएको छ। आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा घटाइएको छ। नयाँ मूल्य प्रतिलिटर ९० रुपैयाँ कायम गरिएको छ।
मूल्य समायोजनपछि अब बिराटनगर, महेन्द्रनगर, वीरगन्ज, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र चारआली डिपोबाट १५ किलोमिटर दुरीसम्म ढुवानी हुने पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १०४ रुपैयाँ ५० पैसा कायम भएको छ।
त्यस्तै, पोखरा र दाङ डिपोबाट १५ किलोमिटर दुरीसम्मको १०५ रुपैयाँ ५० पैसा कायम भएको छ। थानकोट, सुर्खेत र दिपायल डिपोमार्फत ढुवानी हुने पेट्रोलको मूल्य १०६ रुपैयाँ कायम भएको छ।
बिराटनगर, महेन्द्रनगर, वीरगन्ज, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र चारआली डिपोमार्फत १५ किलोमिटर दुरीसम्म डिजेल र मट्टितेलको खुद्रा मूल्य ९३ रुपैयाँ ५० पैसा कायम भएको छ।
पोखरा र दाङ डिपोमार्फत जाने मट्टितेल र डिजेलको खुद्रा मूल्य ९४ रुपैयाँ ५० पैसा तोकिएको छ। थानकोट, सुर्खेत र दिपायलमार्फत ढुवानी हुने डिजेल, मट्टितेलको खुद्रा मूल्य प्रतिलिटर ९५ रुपैयाँ कायम भएको छ।