राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्माले कोरोना भाइरसको कारण नेपालको अर्थतन्त्रमा पनि ठूलो असर परेको सुनाउँदै नेपाल सरकारले महत्वपूर्ण क्षेत्रमा विशेष प्याकेजको घोषणा गर्नुपर्ने बताएका छन्।
शुक्रबार आयोजित विशेष साक्षात्कारमा बोल्दै डा. शर्माले कोरोनाका कारण विश्वव्यापी रुपमा पर्यटन व्यवसायमा सबैभन्दा ठूलो असर परेको र फरेन एक्सचेन्ज पनि घटेको बताए। उनले बिदेशी लगानी भित्र्याउनको लागि पनि सुविधा प्रदान गर्नुपर्नेमा जोड दिए।
अर्का अर्थविद् तथा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. चन्द्रमणि अधिकारीले कोरोना भाइरसको ग्लोबल ईकोनोमीमा ठूलो असर परेको सुनाउँदै नेपालमा पनि यसको प्रभाव परेको उल्लेख गरे। अहिले पनि ५६ प्रतिशत परिवार रेमिट्यान्समा निर्भर भएकोले कोरोनाका कारण ठूलो असर परेको उनको भनाई थियो।
अर्थविद् एवम् पूर्वराजदूत प्रा. डा. विश्वम्भर प्याकुरेलले विश्वभरि कोरोनाको प्रभाव देखिएकोले यसबाट नेपाललाई पनि असर परिहेको बताए।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले सरकारका कारण नेपाली जनता मनौबैज्ञानिक रुपमा पनि कमजोर र हारेको अवस्थामा पुगेको टिप्पणी गरे।