निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि महासंघका हालका उपाध्यक्ष चन्द्र ढकालले उम्मेदवारी घोषणा गरेका छन्।
बुधबार काठमाडौंमा विशेष कार्यक्रम गरी महासंघको आसन्न नेतृत्वका लागि उनले उम्मेदवारी घोषणा गरेका हुन्।
आउँदो चैत २९ गते हुने निर्वाचनमा विजयी हुने वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था छ। कार्यक्रममा बोल्दै ढकालले व्यवसायीहरुको इच्छाअनुसार नै आफूले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको भन्दै एक एक जोडेर दुई होइन, एघार बनाउने संकल्प गरे।
राज्य र निजी क्षेत्रको साझेदारीको कुरा उठाएका उनले सरकारसँग मिलेर नै निजी क्षेत्रका समस्या समाधान गर्न आफू अग्रसर हुने बताए। ढकालले सरकार निजी क्षेत्रमैत्री भए पनि सरकारी संयन्त्र परम्परागत झन्झटपूर्ण रहेको भन्दै यसलाई सुधार गर्नुपर्ने, करका समस्याहरु समाधान गर्नुपर्ने उल्लेख गरे।
त्यस्तै उनले साना व्यवसायीको हितलाई समेत केन्द्रमा राखेर महासंघले काम गर्नुपर्ने, मुलुकको आर्थिक विकास र विदेशी लगानी प्रवद्र्धनका लागि ठूला व्यवसायीहरुलाई पनि प्रोत्साहन गर्नुपर्ने, औद्योगिकीकरणका लागि राज्यले पूर्वाधार विकास, विद्युतीकरण, जग्गाको उपलब्धतामा हुने समस्याको निराकरण गर्नुपर्ने धारणा राखे।
उम्मेदवारी घोषणा कार्यक्रममा महासंघका पूर्वउपाध्यक्षद्धय चण्डिराज ढकाल, सुरज वैद्य लगायत सहभागी थिए। ढकाललाई ६० भन्दा बढि जिल्ला तथा नगरको समर्थन रहेको दावी गरिएको छ। कार्यक्रममा जिल्ला तथा प्रदेशका प्रमुखहरुसहित विभिन्न व्यवसायीले ढकाललाई शुभकामना दिएका थिए। ढकालको प्रतिस्पर्धीमा महासंघका अर्का उपाध्यक्ष किशोर प्रधान देखिएका छन्।