नेपाल एयरलाइन्स कर्पोरेशनका लागि दुई न्यारो बडी एरबस ए३२० विमानहरूको सम्झौता सुरक्षित गर्न एयरबसले कम्तीमा ३ लाख ४० हजार युरो तिर्नुपरेको फ्रान्सेली राष्ट्रिय वित्तीय अभियोजकको कार्यालयले जारी गरेको सम्झौतापत्रमा उल्लेख छ।
एयरबसले दिएको झण्डै नेपाली २० करोड रुपैयाँ नेपाली बिचौलिया र अधिकारीहरुलाई भुक्तान गरिएको थियो या थिएन भन्ने विषय यकिन नभए पनि ३ लाख ४० हजार युरो भने तेश्रो पार्टीमार्फत नेपाली अधिकारीहरुसम्म आइपुगेको विश्वास छ।
फ्रान्सेली राष्ट्रिय वित्तीय अभियोजकको कार्यालयले जनवरी २९ मा अदालतमा बुझाएको कागजात अनुसार टुलूजस्थित कम्पनीले २०१४ फेब्रुअरीदेखि २०१५ अप्रिलसम्ममा ३ लाख ४० हजार युरो ९३ लाख ७६ हजार १ सय ४० डलर० नेपाली व्यापारीले बनाएको तेस्रो पक्षलाई आर्थिक कारोबार सुविधाजनक बनाउन नेपाली सरकारी अधिकारीलाई दिने गरी घूस दिएको देखिन्छ।
नोभेम्बर २००९ मा दुबईमा भएको एयर शोमा नेपाल एयरलाइन्सका तत्कालीन प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले एयरबससँग वाइड बडी ए३३०-२०० र न्यारो बडी ए३२० विमान खरिदका लागि सहमतिपत्रमा हस्ताक्षर गरेका थिए। सहमतिपत्रअनुसार ए३३० र ए३२० दुई वर्षमा बुझाउनुपर्ने तय भएको थियो। तर अग्रिम भुक्तानीको रूपमा ७ लाख ५० हजार डलर एयरबसलाई भुक्तानी दिएपछि कंसाकारलाई अनियमितता गरेको आरोपमा पक्राउ गरिएको थियो।
२०१० मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कंसाकारविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। तर २०१२ मा विशेष अदालतले कंसाकारलाई निर्दोष ठहर गर्दै सफाइ दियो। संसदीय लेखा समितिले पनि सुरुदेखि नै अनियमितता भएको आशंकामा यसको छानबिन गरिरहेको थियो।साभार कान्तिपुर