नेपाल राष्ट्र बैंकले फेसबुक, ट्वीटर, युट्युवजस्ता सामाजिक सञ्जालमार्फत् विज्ञापन गर्नेलाई कारवाही गर्ने भएको छ।
अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने काम गैरकानुनी भएको भन्दै राष्ट्र बैंकले सूचना सार्वजनिक गर्दै कारवाही गर्ने चेतावनी दिएकाे हाे।
फेसबुक, ट्वीटर, युट्युव, इन्स्टाग्राममार्फत विज्ञापन गर्दा नेपालको अर्बौ रुपैयाँ अवैधानिक रुपमा बाहिरिने गरेको थियो। यस्तो कारोबारबाट विदेशी मुद्रा अपचलन हुने भएकाले कसैले त्यसरी कारोबार गरेको पाइएमा विदेशी विनिमय नियमित गर्ने ऐन र प्रचलित कानुन बमोजिम कारवाही हुने बैंकले जारी गरेको सूचनामा लेखिएको छ।
यसरी विज्ञापन गर्न रोक्दा नेपाल भित्रिने विदेशी मुद्रा बढ्न जानेछ। पछिल्लो समय रेमिटेन्स घट्नुको एक कारणमध्येको अवैधानिक रुपमा गरिने विज्ञापन पनि थियो।चालु बर्षको मौद्रिक नीतिले यसरी विज्ञापन गर्न नपाइने व्यवस्थालाई कडाइ गरिने जनाए पनि केही निर्णय गर्न भने सकेको थिएन।
राष्ट्र बैंकबाट सटही सुविधा नपाइने हुँदा यहाँका एजेन्सीहरुले बाहिर काम गर्ने नेपालीले पठाउने पैसा उतै रोकेर आँफै राख्थे। त्यस बराबरको पैसा उनीहरुले नेपाली रुपैयाँमा परिवारलाई भुक्तानी गरिदिन्थे। यसो हुँदा नेपाल आउने विदेशी मुद्रा रोकिन्थ्यो।अब कसैले विद्युतीय माध्यमबाट प्रकाशित वा प्रसारित सामाग्रीका कारण आम्दानी गर्छ भने त्यो पनि बैंकिङ च्यानलबाट ल्याउनु पर्ने हुन्छ ।