अर्थमन्त्री डा. युवराज खतिवडाले वाणिज्य बैंकहरुलाई मर्जमा जान पुनः सुझाव दिएका छन् ।
राष्ट्रिय बाणिज्य बैंकको ५५औ वार्षिकोत्सव समारोहलाई शुक्रबार सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले घराना मिल्नेहरु मर्जमा जान सक्ने भन्दै २७ वटै बाणिज्य बैंक चाहिन्छ भन्ने नरहेको धारणा राखे। खतिवडाले निक्षेप र कर्जाबीचको ब्याजजदर अन्तर (स्प्रेडदर) पालना गराउन नेपाल राष्ट्र बैंकलाई निर्देशन पनि दिरए । राष्ट्र बैंकले त्यस्तो स्प्रेडदर पालना गराएको वा नगराउने विषयमा अर्थ मन्त्रालयबाट अनुगमन पनि गरिने उनले बताए
अर्थमन्त्री खतिवडाले बैंकहरूलाई गुणस्तरीय कर्जा विस्तारमा लाग्नको लागि आग्रह गरे । कर्जा वृद्धिको प्रभाव उत्पादन वृद्धिमा नदेखिए वा अनुत्पादक क्षेत्रमा कर्जा बढी भए विगत जस्तै कर्जाको सिलिङ तोक्नुपर्ने अवस्था आउने उनले बताए ।
त्यस्तै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठले बैंकलाई थप प्रभावकारी र प्रतिस्पर्धी गराउनको लागि रणनीतिक योजना अघि बढाएको बताए । कार्यक्रममा बैंकका कर्मचारीहरुलाई सम्मान गरिएको थियो । एक खर्ब ९७ अर्ब निक्षेप, एक खर्ब ५० अर्ब कर्जा रहेको यस बैंकका २३८ शाखा, २०६ एटिएम रहेका छन् भने आर्थिक वर्ष २०७५/७६ मा पाँच अर्ब चार करोड नाफा कमाएको थियो ।