नेपाल निर्माण व्यवसायी महासंघले देशभित्र काम गर्ने वातावरण नभएको जनाएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष रवि सिंहले मुलुकभित्र निर्माण व्यवसायीहरुले काम गर्ने वातावरण नरहेको बताएका हुन्।
निर्माण व्यवसायी र उनीहरुका उपकरणलाई सरकारले सुरक्षाको प्रत्याभूति दिन नसक्दा काम गर्ने वातावरण नबनेको उनको गुनासो थियो। पछिल्लो समय व्यवसायीका करिब २० करोड भन्दा बढीको उपकरणमा आगजनी भएको उनले तथ्यांक पेश गरे।
यसैबीच, भक्तपुरमा सम्पन्न महासंघको २१ औं साधारण सभाले ३० बुँदे घोषणा पत्र जारी गर्दै पूर्वाधारमैत्री नीतिगत व्यवस्थाले मात्र विकास निर्माण प्रभावकारी बन्ने ठहर गरेको छ। घोषणापत्रलाई नेपाल सरकारसँग सहकार्य गरी संशोधन गर्नुपर्ने नीतिगत कार्यहरु, भ्याट तथा राजश्व, प्रतिवद्धता कार्यान्वयन, व्यवसायिक प्रवद्र्धन र अन्तर्राष्ट्रिय सम्बन्धको विकास तथा व्यवसायीक सुदृढिकरण सम्बन्धी लगायतका विषय महासंघले समेटेको छ।