कृषि विकास बैंकले चालु आवको पुष मसान्तसम्म १ खर्ब २७ अर्ब निक्षेप संकलन गरेको छ ।
आइतबार बैंकको ५३ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार अघिल्लो वर्षको पुस मसान्तमा बैंकसँग १ खर्ब १० अर्ब रुपैयाँ निक्षेप थियो ।
एक वर्षमा बैंकको निक्षेप १५.४४ प्रतिशतले बढेको छ । यो अवधिमा बैंकको कर्जा तथा लगानी १०.२३ प्रतिशतले बढेको छ । गत वर्षको पुस मसान्तसम्ममा १ खर्ब ६ अर्ब रुपैयाँ कर्जा तथा लगानी गरेको बैंकले यो वर्ष १ खर्ब १७ अर्ब रुपैयाँ पुर्याएको छ । बैंकको खराब कर्जा रकमका आधारमा १०.३१ प्रतिशत घटेको जनाएको छ । गत वर्षको पुस मसान्तमा ४ अर्ब ७१ करोड रुपैयाँ खराब कर्जा रहेकोमा यस वर्षको पुस मसान्त आइपुग्दा यस्तो कर्जा ४ अर्ब २३ करोड रुपैयाँमा सिमित भएको छ ।
बैंकको कर अघिको नाफामा १७ प्रतिशतले बढाएको छ । गत वर्षको पुस मसान्तमा १ अर्ब ७४ करोड रुपैयाँ नाफा गरेको बैंकले यो वर्षको पुस मसान्तमा २ अर्ब ३ करोड रुपैयाँ नाफा गरेको छ । यो नाफा सरकारलाई कर तिर्नुभन्दा अगाडिको हो ।
बैंकको प्रतिसेयर आम्दानी पनि ५ रुपैयाँले बढेको छ । गत वर्षको पुस मसान्तमा २३.५५ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी यो वषको पुस मसान्तमा २८.३७ रुपैयाँ पुगेको छ ।