भारतीय नम्बरका मालवाहक सवारीलाई नेपाल प्रवेशमा रोक लगाउन ट्रक व्यवसायीले माग गरेका छन्।
विराटनगर ट्रक व्यवसायी सङ्घको २९औँ साधारण सभा तथा १५औँ अधिवेशन कार्यक्रमको अवसरमा शनिबार विराटनगरमा व्यवसायीले भारतीय मालवाहक सवारीलाई सीमा क्षेत्रबाट नेपाल प्रवेशमा रोक लगाउनुपर्ने माग गरेका हुन्।
भारतबाट मालवस्तु लिएर भन्सार सीमा क्षेत्रसम्म आएका मालवाहक सवारी नेपालमा मनपरी ढङ्गले सञ्चालनमा आउँदा नेपालीको रोजगारी खोसिएको भन्दै तत्काल रोक लगाउन माग गरिएको हो।
कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले नेपालमा ६५ हजार मालवाहक सवारी रहेकाले भारतीय मालवाहकलाई प्रवेशमा रोक लगाउनुपर्ने बताए। उनले भारतीय मालवाहक सवारीलाई बिनाअवरोध प्रवेश गर्न दिँदा राज्यको सडक संरचनामा समेत ठूलो क्षति भएको दाबी गरे।
नेपालको सडक भारवहन क्षमताभन्दा धेरै वजन बोकेर आउने भारतीय मालवाहकले नेपाली सवारीको आवागमनमा अतिक्रमण गरिरहेको उनको तर्क थियो। सरकारलाई एकद्वार प्रणालीबाट अग्रिम कर भुक्तानी गर्न व्यवसायी तयार रहेको बताउँदै देशैभरिका सरकारले लगाउने कर हटाउनुपर्ने मागसमेत गरे।
सरकारले निर्धारण गरेको ढुवानीको दरभन्दा कम मूल्यमै नेपालका ट्रक व्यवसायीले ढुवानी गरिरहेको बताउँदै उनले पछिल्लोपटक मूल्य अभिवृद्धि कर (भ्याट) र भीसीटीएस प्रणालीको नियमले आतङ्कित हुनुपरेको बताए। सरकारले चोरी नियन्त्रण गर्न व्यवसायीलाई आतङ्कित पारेको छ, अध्यक्ष श्रेष्ठले भने, सामान चोरी हुन्छ भनेर लगाइएको भीसीटीएस प्रणालीलाई थेग्न व्यवसायीले सक्दैनन्। गाेरखापत्रमा खबर छ।