सर्लाहीको बसबरिया गाउँपालिकाको सढोडवाका कपिलदेव साहले उखु खेती छाडेर दुई वर्षदेखि व्यतवसायिक रूपमा तरकारी खेती गर्दै आएका छन्।
उखु खेतीका कारण घर व्यवहार धान्नै मुस्किल परेपछि साहले उखु लगाउँदै आएको खेतमा अहिले काउली, खुर्सानी, धनियाँ, प्याज, लसुनलगायतका तरकारी र अन्य बाली लगाए।
उखु उब्जाएर चिनी मिलमा बिक्री गरेको दुई वर्षसम्म पैसा पाइएन, त्यसपछि उखु मासेर अहिले तरकारी र अन्य बाली लगाएको छु, साहले भने, उखु लगाएर साहूको ऋण थुपार्नुभन्दा तरकारी खेतीबाटै सहज रूपमा व्यवहार चलिरहेको छ।
चिनी उद्योगमा उखु बिक्री गरेपछि पैसा लिन ठूलो सङ्घर्ष गर्नु परेपछि आफू तरकारी खेतीमा लागेको साहले बताए। साहजस्तै सर्लाहीका अन्य किसानले पनि उखु मासेर अन्य बाली लगाउन थालेका छन्। उखुको मूल्य कायम गराउन र चिनी उद्योगमा उखु बिक्री गरेपछि भुक्तान लिन आन्दोलन नै गर्नुपर्ने बाध्यताले उखु खेतीतर्फ किसानको आकर्षण घटेको हो।
उनी मात्र होइन, सर्लाहीका अधिकांश किसान उखु बाली छाडेर तरकारी खेतीतर्फ आकर्षित हुँदै आएका छन्। उखु मासेर तरकारी रोप्ने तयारीमा गाउँ गाउँमा किसान जुटेका देखिन्छन्।
केही वर्षअघिसम्म बाक्लै मात्रामा उखु खेती हुने क्षेत्रमा अहिले मकै, गहुँलगायतका बाली र तरकारी खेती हुन थालेको छ। धनकौल गाउँपालिकाको महिनाथपुरका किसान रिकेश्वर महतोले घर व्यवहार धान्न उखु खेती छाड्नुको विकल्प नरहेको गुनासो गरे।
चिनी उद्योगीलाई उधारोमा उखु बेचेर कति दिनम्म साहूसँग ऋण काडेर व्यवहार चलाउनु? महतोले भने, उखु खेतीले बिल्लीबाठको अवस्था आइसकेको छ। उनले साहूको ऋण चुक्ता गर्न खेत बिक्री गर्न खोज्दा पनि महिनाथपुर क्षेत्रको खेत बिक्री नै हुन छाडेको गुनासो गरे। गाेरखापत्र दैनिकमा खबर छ।