धितोपत्र बोर्डले नयाँ अध्यक्ष पाएसँगै लगानीकर्तामा देखिएको उत्साहका कारण शेयर बजारमा सुधारको संकेत देखिएको छ। सरकारले सोमबार नेपाल राष्ट्रबैंकका पूर्व कार्यकारी निर्देशक भीष्मराज ढुंगानालाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो।
नियुक्त गरेको दिन बढेको शेयर बजारमा साताको तेस्रो दिन मंगलबार पनि उल्लेख्य सुधार आएको छ। मंगलबार नेप्से परिसुचक १६ दशमलब २३ अंकले बढेर १ हजार २ सय १६ दशमलब ९२ अंकमा पुगेको छ।
यस दिन बजारमा १ सय ७९ कम्पनीका ३८ लाख ८० हजार ९ सय ५० कित्ता सेयर १ अर्ब १० करोड २७ लाख ३६ हजार ७ सय ४८ रुपैयाँमा कारोबार भयो। कारोबार भएका १२ वटा समूहगत उपसुचकमध्ये १० सुचक उकालो लागेको छ भने बाँकी दुई सुचक ओरालो लागेको छ।
मंगलबार बजारमा माछापुच्छ्रे बैंकको सेयरको कारोबार सबैभन्दा धेरै भयो । कम्पनीको सेयर १९ करोड ४९ लाख १३ हजार ४ सय १३ रुपैयाँमा कारोबार भएको हो।