राजधानी र आसपासका क्षेत्रमा चिसो वृद्धिसँगै विद्युत् माग बढेर ४५० मेगावाटको हाराहारीमा पुगेको छ। माग बढी भएका कारण विद्युत् व्यवस्थापनमा प्राधिकरणलाई थप जटिलता पैदा भएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्ला र काभ्रेपलाञ्चोकको पाँचखालसम्मको मागमा उल्लेख्य वृद्धि भएको प्राधिकरणले जनाएको छ ।
विद्युत् उच्च माग भएको गत लक्ष्मीपूजाको दिन एक हजार ८९ मेगावाट मात्रै पुगेको थियो। जाडोका कारण देशव्यापीरुपमा नै विद्युत् माग बढेर एक हजार ३५२ मेगावाट पुगेको छ। लक्ष्मीपूजाको दिन सङ्घीय राजधानी काठमाडौँ उपत्यकाको उच्च माग ३३१ मेगावाट मापन गरिएको थियो । जाडो बढ्दा माग ११९ मेगावाटले वृद्धि भएको छ ।
एक्कासी विद्युत् माग बढ्दा सवस्टेशन तथा ग्रीडहरुमा समेत जटिलता देखिएको छ । यस्तै प्रसारण तथा वितरण प्रणालीमा पनि ‘ओभर लोड’ देखिएको छ । जाडोका कारण हरेक घर, कोठा कोठामा न्यायो बनाउने हिटर तथा एसीजस्ता उपकरण चलेका कारण पनि विद्युत् माग ह्वात्तै बढेको छ । प्राधिकरणले औसतमा विद्युत् माग ३५० मेगावाटको हाराहारीमा हुने अनुमान गरेको थियो तर अनुमान गरेभन्दा झण्डै १०० मेगावाट बढी माग प्रणालीमा देखिएको छ ।
विद्युत् माग बढेसँगै देखिएका समस्या समाधानका लागि कार्यकारी निर्देशक कुलमान घिसिङ आफैँ कार्यस्थलमा खटिएका छन्।