नेपाल रङ उत्पादनमा आत्मनिर्भर भएको बताइएको छ। नेपालमा वार्षिक ३० अर्ब रुपियाँ बराबरको रङको खपत हुने गरेकोमा त्यसको अधिकांश हिस्सा स्वदेशी उद्योगकै उत्पादन रहेको उद्योगीहरूले बताएका छन्।
चितवनस्थित जम्सिन पेन्ट्सका प्रमुख लक्ष्मण अर्यालका अनुसार नेपालमा स्वदेशी उत्पादनबाहेक बहुराष्ट्रिय कम्पनी, भारतीय कम्पनीका रङ नेपालमा आउने गरेका छन् तर विदेशी रङ जत्तिकै गुणस्तरीय नेपाली उत्पादनका रङ रहेको दाबी उनले गरे। चितवनका रङ उद्योगले वार्षिक तीन अर्ब रुपियाँ बराबरको उत्पादन गर्दै आएका छन्।
नेपाली रङको बजारमा यहाँको उद्योगले जिल्लाको मागलाई पूरा गरेर देशभर नै आफ्ना उत्पादन पुर्याएको उद्योगीले जानकारी दिएका छन्।
२५ वर्षदेखि रङ उत्पादन गर्दै आएको जस्मिन पेन्ट्सका उत्पादन देशभर रहेको उनले बताए। प्रमुख अर्यालले भने, नेपाल रङमा आत्मनिर्भर भइसकेको छ, यहाँको मागलाई स्वदेशी उत्पादनले पुगेको छ।
उनका अनुसार चितवनमा रहेका उद्योगले मात्रै वार्षिक तीन अर्ब रुपियाँ बराबरको कारोबार गरेका छन्, जुन चितवनको आन्तरिक मागको दोब्बरले बढी उत्पादन हो।
अर्यालले भने, एक अर्ब ५० करोड रुपियाँको रङ चितवनमा खपत हुन्छ तर यहाँका उद्योगले वार्षिक तीन अर्ब रुपियाँको रङ बिक्री गरेका छन्। यहाँका केही उद्योगले चितवनसहित तराईका जिल्ला, नेपालभरि र आसपासका क्षेत्रमा रङ बिक्री गर्दै आएका छन्। गाेरखापत्रमा खबर छ।