कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरमा बिहीबार करिब ११ बजेतिर विद्युत् लाइन गयो। सेवाग्राहीको चाप थियो। विकल्पमा जेनेरेटर राखिए पनि तत्कालै सञ्चालन भएन। अनलाइनबाट नयाँ कम्पनी दर्ताको फाराम जाँच गरिरहेका कर्मचारी घाम ताप्न निस्किए। सेवाग्राहीसँग कुर्नुको विकल्प भएन।
नयाँ कम्पनी दर्ता तथा अद्यावधिक गर्ने एक मात्र निकाय राजधानी त्रिपुरेश्वरको कम्पनी रजिस्ट्रारको कार्यालय बिचौलियाको घेराबन्दीमै देखिएको छ। सेवाग्राहीले सहज सेवा लिनसक्ने वातावरण नभएको सेवाग्राही बताउँछन्। वकिल अथवा बिचौलियाहरूको साथ नलिए काम हुनसक्ने अवस्था छैन। प्रवेशद्वारमै बिचौलियाको तानातानले सेवाग्राहीलाई अन्योल बनाएको छ।
बिहीबार स्थलगत अनुगमन टोली कार्यालयमा पुग्दा १० बजे नै सेवाग्राहीको चाप थियो तर बिचौलियाहरू भने ९ बजे नै कार्यालय अगाडि पुगिसकेका थिए। क्रमैैसँग कम्पनी दर्ताको काम हुने भए पनि त्यो व्यवस्थित देखिएन।
हरेक कोठामा सेवाग्राही कोचाकोच देखिए तर भीड व्यवस्थापनको कुनै गुञ्जायस देखिएन। कार्यालय अव्यवस्थित, पुराना फाइल छरपस्ट र फाइल खोजेको समयमा नभेटिने अवस्था उत्तिकै छ। कार्यालयको सरसफाइमा खासै चासो लिइएको छैन।
अनलाइनबाट फाराम भर्ने व्यवस्था गरिए पनि प्रिन्ट कागजात अनिवार्य गरिएकाले सेवाग्राही कार्यालय आउनैपर्ने बाध्यता छ। कार्यालयले ढिलासुस्तीमा न्यूनीकरण गर्न सकेको छैन। देव ट्राभल एन्ड टुर्स चितवनलाई कम्पनी अद्यावधिक गर्न छ दिन लाग्यो। फाइल खोज्न दुई दिन लाग्यो। कम्पनीका प्रमुख जगन्नाथ कँडेले भन्छन्, “हाम्रो फाइल खोज्न दुई दिन लाग्यो। २०६३ सालको दर्ता हो, पहिला नेटबाट हुन्छ भनियो अहिले यहीँ आउनु पर्यो। नयाँ नियम आएको छ भन्छन्, हामीलाई थाहै हुँदैन। मैले २६ हजार रुपियाँ जरिवाना मात्र तिरे।”
कम्पनी अद्यावधिक गर्न आउने अधिकांश सेवाग्राही जरिवानामा परेकै हुन्छन्। कार्यालयका अनुसार हरेक १० वटा कम्पनीमध्ये सातवटा कम्पनी कुनै न कुनै जरिवानामा परेकै हुन्छन्। अधिकांशले जरिवाना तोकिएको समयभन्दा ढिला आएको र कागजात नमिलेको वा नयाँ व्यवस्थाअनुसार परिमार्जन गरेका छैनन् तर सेवाग्राही भने आफूहरूलाई थाहै नभएको बताउँदै जरिवाना तिर्न बाध्य हुन्छन्। गाेरखापत्रमा खबर छ।