रेमिट्यान्सले धानिएको मुलुकका नागरिकले विभिन्न देश घुमघाम गर्दा र उच्च शिक्षा अध्ययनकै क्रममा ३७ अर्ब ९७ करोड रुपैयाँ बाहिरिएको छ भन्ने सुन्दा अपत्यारिलो लाग्न सक्छ।
तर, यस्तो वास्तविकता नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले सत्य साबित गरेको हो। नेपाल भ्रमण वर्ष २०२० को माहोल अत्यधिक बढिरहेको सरकारी दाबी आइरहँदा विदेशबाट आउने पर्यटकले यहाँ गर्ने खर्चभन्दा बाहिर जाने रकम अत्यधिक रहेको देखिएको छ। यस्तै, विदेशमा अध्ययनकै लागि भन्दै अर्बौं रुपैयाँ बाहिरिने क्रममा पनि कुनै कमी आएको छैन।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७६-७७ को चार महिना मंसिरअघिसम्म गरेको आर्थिक तथा वित्तीय प्रतिवेदनको तथ्यांकले सो अवधिमा कुल ३७ अर्ब ९७ करोड रुपैयाँ बाहिरिएको देखाएको हो। राष्ट्र बैंकको तथ्यांकअनुसार सो अवधिमा नेपालबाट विभिन्न मुलुकमा (आउट बोन) पर्यटकीय भ्रमणलगायत अन्य भ्रमणकै लागि जानेहरूबाट मात्र २५ अर्ब ८० करोड रुपैयाँ बाहिरिएको छ। हाल नेपालीहरूको थाइल्यान्ड, सिंगापुर, मलेसिया, इन्डोनेसिया र युरोपलगायत देशमा टुर प्याकेज नै बनाएर भ्रमण गर्ने क्रम बढेको छ। जसका कारण नेपालबाट यति छोटो समयमै २५ अर्ब ८० करोड रुपैयाँ बाहिरिएको हो।
गत वर्ष विदेश भ्रमणमा अझ यो भन्दा पनि धेरै रकम बाहिरिएको थियो। गत वर्षको सोही अवधिमा कुल ३४ अर्ब ९१ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकले जनाएको छ। तर, यहाँको पैसा अनावश्यक रूपमा बाहिर नजाओस् भनेर सरकारले गरेको नीतिगत कडाइका कारण अहिले नेपालीले विदेश घुमघाम र अध्ययनमा गर्ने खर्च घटेको छ । केही वर्षयता अध्ययन र भ्रमणका नाममा ठूलो रकम बाहिरिँदै आएकामा चालू आवको सुरुदेखि त्यस्तो खर्च घटेको राष्ट्र बैंकको आर्थिक तथा वित्तीय प्रतिवेदनले देखाएको हो।
यसैगरी, उच्च शिक्षा अध्ययनका लागि वितेका चार महिनाको अवधिमा कुल १२ अर्ब १७ करोड रुपैयाँ बाहिरिएको छ। तर, गत वर्षको चार महिना (साउन, भदौ, असोज, कात्तिक) मा भन्दा चालू आवको सो अवधिमा कम रकम उच्च शिक्षाका लागि बिदेसिएको थियो। सरकारले कर्मचारीको विदेश भ्रमणमा कडाइ गरेको र राष्ट्र बैंकले विदेशी मुद्रा सटही सुविधाको सीमा घटाएकाले विदेश घुमघाम र अध्ययनका लागि बाहिरिने नेपालीको खर्च घटेको राष्ट्र बैंकको तथ्यांकमा छ। राजधानीमा खबर छ।