देशभरकै स्थानीय तहको लेखाप्रणाली व्यवस्थित गर्ने सर्भर सूत्र लामो समयदेखि ‘बिग्रिएको’ छ। सम्बद्ध अधिकारीहरूले यसलाई ‘ह्याक’ भएको भन्दै आएका छन्। यसबाट ७ सय ५३ वटै स्थानीय तहका अघिल्लो वर्षको साउनयताका ‘डाटा’ नष्ट भएका छन्।
महालेखा नियन्त्रक कार्यालयको नियन्त्रणमा रहेको सफ्टवेयर सबनेसनल ट्रेजरी रेगुलेटरी एप्लिकेसन ‘सुत्र’ को गडबडीबारे प्रहरीले अनुसन्धान थालेको छ। सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व (पेफा) ले २०७५/७६ बाट स्थानीय तथा प्रदेश सरकारको सञ्चित कोष व्यवस्थापन गर्न सूत्र कार्यान्वयनमा ल्याएको थियो। महालेखा नियन्त्रक कार्यालयका उपमहालेखा निरीक्षक निरज केसीका अनुसार बिहीबार रातिबाट सर्भर ह्याक भएको छ। केही स्थानीय तहले भने मंसिर दोस्रो सातादेखि बिग्रिएको अन्नपूर्ण पोस्ट्लाई जानकारी दिएका छन्।
२०७६ वैशाख २३ गते मन्त्रिपरिषद् बैठकले सबै स्थानीय तहमा सुत्र लागू गने निर्णय गरेका थियो। ‘सुत्र’ ले काम नगरेको जानकारी सबै स्थानीय तह र प्रदेश सरकारलाई गराइसकेको उनले बताए। ‘अघिल्लो वर्ष साउनयताका सबै सिस्टम कोल्याप्स भयो। हामीले मंसिरसम्मको डाटा सर्भर बाहिर निकालेर राखेका थियौं। झन्डै एक महिनाको डाटा सबै नष्ट भयो,’ केसीले भने।
महालेखा नियन्त्रक गोपीनाथ मैनालीले अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई पत्र लेखेर जानकारी गराइसकेको बताए। ‘कहाँ, कसले गर्यो, त्यो पत्ता लगाएर कारबाही गर्न सीआईबी भनिसकेको छु,’ उनले भने, ‘उसले छानबिन गरिरहेको छ।’
उनले सुत्र सञ्चालन गर्न प्राविधिक टोली परिचालन गरिसकेको जानकारी दिए। सीआईबी प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले ‘सुत्र ह्याक’ बारे अनुसन्धान भइरहेको बताए। मलेनिकाबाट आइतबार चिठी आएपछि अनुसन्धान अधिकृतको टोली खटाइएको उनले जानकारी दिए। अन्नपूर्ण पाेस्टमा खबर छ।