लागतअनुसार मूल्य नपाएको भन्दै नेपाल ह्याचरी उद्योग संघले आजबाट ब्रोइलर कुखुराका चल्ला उत्पादन १० दिनका लागि ठप्प बनाएको छ ।
‘१० दिन बन्द गर्दा बजार राम्रो हुन्छ कि भन्ने आशाले यसो गर्न लागिएको हो,’ नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष टीकाराम पोखरेलले भने, ‘बन्द गर्दा बजार कस्तो हुन्छ हेरौं न भनेर हो ।’ उनका अनुसार एउटा चल्ला उत्पादनमा करिब ५५ रुपैयाँ लागत पर्छ, तर बिक्री मूल्य ३० रुपैयाँभन्दा पनि थोरै छ ।
उनका अनुसार लेयर्सबाहेक सबै उत्पादन १० दिनका लागि बन्द गरिएको हो । नेपालमा सातामा ३० लाख हाराहारी ब्रोइलर कुखुरा चल्ला आवश्यक भए पनि अहिलेको उत्पादन ४५ लाख मात्र छ ।
नेपालमा ब्रोइलर, लेयर्स, कोइलर र कलर ब्रोइलर चल्ला उत्पादन गर्ने २ सय ८० ह्याचरी उद्योग छन् । चितवनमा मात्रै १ सय २० भन्दा बढी ह्याचरी छन् ।