सरकारले गोकर्ण फरेस्ट रिसोर्ट, त्यहाँ रहेको गल्फ कोर्स र जंगल क्षेत्र निकै सस्तो दरमा थप २५ वर्षका लागि फेरि यति होल्डिङ्स प्रालिलाई नै दिएको छ। सरकारी स्वामित्वको उक्त सम्पत्ति प्रयोगबारे पुरानो सम्झौताको म्याद सकिनु ६ वर्ष बाँकी छँदै यतिलाई समय थपिएको हो।उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल अध्यक्ष रहेको नेपाल ट्रस्ट सञ्चालक समितिको सिफारिसमा गत सोमबार मन्त्रिपरिषद् बैठकले समय थप्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्ले गरेका अन्य निर्णयहरू गत बिहीबार सार्वजनिक गरिए पनि यसबारे खुलाइएको छैन।
गोकर्णेश्वर नगरपालिकामा पर्ने, झन्डै २८ सय रोपनीमा फैलिएको उक्त रिसोर्ट र गल्फ कोर्सका निम्ति यतिले प्रतिरोपनी ५ सय ६४ रुपैयाँ मात्र मासिक भाडा तिर्दै आएको छ। यति होल्डिङ्स गत वर्ष ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका व्यवसायी आङछिरिङ शेर्पाले अगाडि बढाएको कम्पनी हो। यतिलाई सत्तारूढ नेकपाका केही नेताले संरक्षण दिने एवं प्रवर्द्धन गर्ने गरेको आरोप लाग्दै आएको छ।
उपप्रधान तथा रक्षमन्त्री पोखरेलले भाडा र समय थप गर्ने विषयमा बृहत् अध्ययन गरेर निर्णय गरिएको बताए। ‘नेपाल ट्रस्ट मातहतको सम्पत्ति अहिले जसले भाडामा पाएको छ, उसैलाई एकपटक समय थपिदिन पाइने व्यवस्था ऐनमा रहेछ,’ उनले भने। तत्कालीन राजपरिवारका जग्गा एवं सम्पति गणतन्त्र स्थापनापछि राष्ट्रियकरण गरी नेपाल ट्रस्टअन्तर्गत ल्याइएको थियो। कान्तिपुरमा खबर छ।