नेपाली बजारमा सुनचाँदीको भाउ घटबढ भइरहनु सामान्य हो । गत साताको अन्तिम दिन (शुक्रबार) प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको भाउ यो साता निरन्तर ओरालो लागिरहेको अवस्था थियो । तर यो साताको चौथो दिन अर्थात् बुधबार भने सुनचाँदी दुवैको भाउ भने स्थिर रह्यो । साताको पाँचौं दिन (बिहीबार) त झन् सुनचाँदी दुवैको भाउ ह्वात्तै बढ्यो । बिहेका लगनका बेला ह्वात्तै सुनचाँदीको भाउ बढ्दा आत्तिएका नेपाली उपभोक्तालाई आजको भाउले केही राहत दिएको छ । आज नेपाली बजारमा सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घट्को छ । चाँदीको भाउ भने आज स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज (शुक्रबार) नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घट्दै ७० हजार ८ सय रुपैयाँ कायम भएको छ । हिजो छापावाल सुनको भाउ प्रतितोला ७१ हजार २ सय रुपैयाँ थियो ।
यस्तै तेजाबी सुन प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो बिहीबार भने तेजाबी सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
स्थिर रहेको चाँदीको भाउ हिजोकै मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । यो भाउ हिजो पनि यही नै थियो ।
व्यवसायीहरुका अनुसार सुनचाँदीको भाउ बढ्दा उपभोक्ताको आगमन कम हुने यद्यपि आवश्यक पर्नेका लागि किन्नुको विकल्प पनि थिएन । यो साता निरन्तर ओरालो लागेको सुनचाँदीको भाउ बिहीबार एक-एक बढ्दा उपभोक्तालाई अफ्ठ्यारो परेको थियो भने आज (शुक्रबार) पुन: भाउ घट्दा उपभोक्तालाई अलिअलि भए पनि राहत भएको छ । बिहे लगनको महिना मानिने मंसिरमा सुनचाँदी खरिद-बिक्री राम्रैसँग हुन्छ । मंसिरलाई सुनचाँदीको कारोबार राम्रो हुने महिना अर्थात् सिजनको महिना पनि मानिन्छ ।