नेपाली बजारमा सुनचाँदीको भाउ घटबढ भइरहनु सामान्य हो । गत साताको अन्तिम दिन (शुक्रबार) प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको भाउ यो साता निरन्तर ओरालो लागिरहेको अवस्था थियो । तर हिजो बुधबार (साताको चौथो दिन) भने सुनचाँदी दुवैको भाउ भने स्थिर रह्यो । आज साताको पाँचौं दिन (बिहीबार) त झन् सुनचाँदी दुवैको भाउ ह्वात्तै बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
साताको पहिलो दिन (आइतबार) प्रतितोला ५ सय रुपैयाँले घटेर कारोबार भएको सुनको भाउ सोमबार पुन: २ सय रुपैयाँका दरले घटेको थियो । मंगलबार पनि सुन प्रतितोला २ सय रुपैयाँले घटेर कारोबार भएको थियो । हिजो (बुधबार) भने सुनचाँदीको भाउ अघिल्लो दिनकै कायम थियो । आज भने सुन प्रतितोला ४ सय रुपैयाँले बढेर कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतितोला १० रुपैयाँले बढेको महासंघले जनाएको छ ।
आइतबार प्रतितोला १० रुपैयाँले घटेको चाँदीको भाउ सोमबार भने ५ रुपैयाँ प्रतितोला घटेर कारोबार भएको थियो । यस्तै मंगलबार प्रतितोला ५ रुपैयाँले घटेर कारोबार भएको चाँदी हिजो (बुधबार) अघिल्लो दिनकै मूल्य अर्थात् भाउ स्थिर थियो । यसको आज भने चाँदी प्रतितोला १० रुपैयाँले बढेर कारोबार भइरहेको छ । आज चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो भने प्रतितोला ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो भने छापावाल सुन ७० हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
महासंघका अनुसार आज तेजाबी सुन प्रतितोलामा ४ सय रुपैयाँले बढ्दै ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो (बुधबार) नेपाली बजारमा तेजाबी सुन प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
व्यवसायीहरुका अनुसार सुनचाँदीको भाउ बढ्दा उपभोक्ताको आगमन कम हुने यद्यपि आवश्यक पर्नेका लागि किन्नुको विकल्प पनि थिएन । यो साता निरन्तर ओरालो लागेको सुनचाँदीको भाउ आज एक-एक बढ्दा उपभोक्तालाई मार पर्ने पक्का देखिन्छ । बिहे लगनको महिना मानिने मंसिरमा सुनचाँदी खरिद-बिक्री राम्रैसँग हुन्छ । मंसिरलाई सुनचाँदीको कारोबार राम्रो हुने महिना अर्थात् सिजनको महिना पनि मानिन्छ ।