दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलमाथि ठूला करदाता कार्यालयले २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेको छ । कार्यालय प्रमुख झलकराम अधिकारीका अनुसार कर तिर्न १५ दिनको समय दिएर एनसेलाई पत्र दिइएको छ ।
कार्यालयले वैशाखमा एनसेलको सेयर स्वामित्व खरिद बिक्रीबापत ६० अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रुपैयाँ कर तिर्नुपर्ने भनी पत्राचार गरेको थियो । एनसेलले यसअघि २१ अर्ब ५४ करोड तिरेको रकम कटाएर ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ ७ दिनभित्र बझाउन पत्राचार गरेको थियो ।
तर त्यसविरुद्ध एनसेल सर्वोच्चमा गयो । र, अदालतले ठूला करदाता कार्यालयले आयकर ऐन २०५८ को दफा १२० (क) बमोजिम लगाएको ५० प्रतिशत शुल्क सर्वोच्चले खारेज गरिदियो ।
यससँगै एनसेलले तिर्नुपर्ने लाभकर २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५ सय ६५ कायम भयो । कार्यालयका अनुसार अब एनलेसले बुझाउनुपर्ने २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरिएको हो ।