विद्युत् विकास विभागले पछिल्लो ३ वर्षमा ५९ सौर्य ऊर्जा परियोजनालाई सर्वेक्षणका लागि अनुमतिपत्र प्रदान गरेको छ। विभागले हालसम्म कुल ४८१ दशमलव ९७ मेगावाट (मेवा) क्षमताका विभिन्न परियोजनाहरूलाई सर्वेक्षणको अनुमति दिएको हो।
विभागको तथ्यांकले देखाउँछ, गत आर्थिक वर्ष (आव) देखि सौर्य ऊर्जाको सर्वे लाइसेन्सका लागि निवेदन दिने र पाउने क्रम बढेको छ। आव २०७५/७६ मा ३४० दशमलव ५६ मेवाका २५ परियोजनाले सर्वे लाइसेन्स पाएका छन् भने चालू आवमा हालसम्म ६१ दशमलव ५९ मेवाका ९ परियोजनाले यस्तो लाइसेन्स पाएका छन्।
विभागले २०७३ असोज १४ गतेदेखि ग्रीड कनेक्टेड सोलार पावर परियोजना सञ्चालनका लागि अनुमति दिन थालेको थियो। विभागले जारी गरेका सर्वेक्षण अनुमतिपत्रमा शून्य दशमलव ५ मेवादेखि १२० मेगावाटसम्म क्षमताका परियोजनाहरू छन्। चौधरी समूहको सिजी इनर्जी इन्फ्रास्ट्रक्चर प्राइभेटले महोत्तरीमा १२० मेवा क्षमताको सोलार योजनाको सर्वेक्षण गर्ने अनुमति लिएको हो।
चालू आवको कात्तिकसम्ममा ६ परियोजनाले उत्पादन लाइसेन्ससमेत पाइसकेका छन्। विभागका अनुसार ग्रीड कनेक्टेड सोलार पावर परियोजना (बुटवल),बेल चौतार सोलार फार्म, मिथिला सोलार पिभी पावर परियोजना (धनुषा), सोम राधाकृष्णा सोलार फार्म परियोजनाले उत्पादन लाइसेन्स पाएका छन्। त्यस्तै, नेपाल विद्युत् प्राधिकरणको नुवाकोटस्थित ५ दशमलव १ र ८ दशमलव ३ मेगावाट क्षमताका सोलार पारियोजनाले पनि उत्पादनको अनुमति पाइसकेका छन्। उत्पादन लाइसेन्स पाएका आयोजनाहरूबाट कुल ४१ दशमलव ३ मेगावाट सौर्य ऊर्जा उत्पादन हुने विभागको भनाइ छ।
नेपाल विद्युत् प्राधिकरणले अघि बढाएको २५ मेगावाटको सोलार आयोजना नुवाकोटमा निर्माणाधीन अवस्थामा छ। सम्भवतः चालू आर्थिक वर्षभित्र त्यसको उत्पादन शुरू हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। उनले भने, ‘परियोजनाको निर्माण अन्तिम चरणमा छ।’ आर्थिक अभियानमा खबर छ।