सरकारले चालू आर्थिक वर्षको बजेटमा समावेश गरेको ठूला बैंक तथा वित्तीय संस्थालाई एकापसमा गाभ्ने (मर्जर) नीति कार्यान्वयन गर्ने पहिलो संस्थाका रुपमा स्थापित भएको छ ग्लोबल आइएमई बैंक ।
साबिकको जनता बैंक र ग्लोबल आइएमई बैंक गाभिएर देशकै धेरै पूँजी भएको बैंक बनेको छ । अर्थमन्त्री डा युवराज खतिवडाको उपस्थितिमा आजदेखि दुई ठूला बैंक गाभिएर एकीकृत कारोवार शुरु गरेका हुन् ।
सरकारले चालू आवको बजेटमार्फत र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वित्तीय संस्थाको सबलीकरणका लागि मर्जर तथा प्राप्ति प्रक्रियालाई प्रोत्साहित गरी आएको तथ्यलाई दृष्टिगत गरी दुवै बैंक एकापसमा गाभिएको बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए। एकापसमा गाभिएसँगै बैंकको चुक्ता पूँजी रु १९ अर्ब पुगेको छ ।
यस्तै कूल प्राथमिक पूँजी रु २४ अर्ब, निक्षेप रु दुई खर्ब १३ अर्ब, कर्जा रु एक खर्ब ९४ अर्ब पुगेको छ । यो परिमाणको वित्तीय अवस्था हाल सञ्चालनमा रहेका कुनै पनि बैंकको नरहेको अध्यक्ष ढकालको भनाइ छ । त्यसैगरी, ७७ वटै जिल्लामा ३०० भन्दा धेरै शाखा, २५९ वटा एटिएम बुथ, २४३ वटा शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्शन काउन्टर, विदेशमा तीनवटा प्रतिनिधि कार्यालय गरी कूल सञ्जाल ८३८ पुगेका छन् । यस्तै बैंकमा तीन हजार २५० कर्मचारी र २० लाख ग्राहक पुगेका छन् ।