भन्सार भन्ने बित्तिकै बढी राजस्व सङ्कलन हुने अड्डा र त्यसै कारणले कर्मचारीको पनि रोजाइमा पर्ने भन्ने हुन्छ। तर, झापाको कुमरखोद छोटी भन्सारमा भने यो नियम लागू नहुन पनि सक्छ।
द्वन्द्वकालमा विस्तापित र गत माघ १ गतेदेखि सञ्चालनमा आएको यस छोटी भन्सार सञ्चालनका हिसाबले एक वर्ष पुग्न अब केही दिन मात्रै बाँकी छ। तर, आम्दानीका हिसाबले यस भन्सारले अरू भन्सारको एक दिन बराबरको राजस्व पनि सङ्कलन गर्न सकेको छैन।
भन्सारमा सुब्बा शक्ति जोशी राईको नेतृत्वमा तीन जना कर्मचारी राजस्व सङ्कलनमा खटिएका छन्। भन्सार पुनः सञ्चालनमा आए पनि हालसम्म जम्मा दुई लाख ७६ हजार आठ सय सत्ताइस रुपियाँ मात्रै राजस्व सङ्कलन गर्न सकेको भन्सारका कर्मचारी हुप्ना मुर्मुले बताए।
भन्सार कार्यालयले सबैभन्दा बढी गत असारमा ६४ हजार १७६ रुपियाँ र सबैभन्दा कम गत भदौमा छ हजार ९७८ रुपियाँ राजस्व सङ्कलन गरेको छ।
यसबाहेक भन्सार कार्यालयले गत माघमा १२ हजार ५४६, फागुनमा १९ हजार ८१९, चैतमा १२ हजार ३९१, वैशाखमा २६ हजार ८२६, जेठमा ५२ हजार ८७५, साउनमा ५० हजार २३, असोजमा आठ हजार १३९ र कात्तिकमा २० हजार ६६१ रुपियाँ राजस्व सङ्कलन भएको छ। मङ्सिरको ११ गतेभित्र दुई हजार ३९३ रुपियाँ मात्रै राजस्व सङ्कलन हुन सकेको भन्सार कर्मचारी मुर्मुले बताए।
अझ कुनैकुनै दिन एक जना पनि भन्सार काट्न नआउँदा दिनभर भन्सार कुर्नु मात्र परेको भन्सार कर्मचारीको भनाइ छ। राजस्व नउठे पनि कार्यालय कुर्नुको विकल्प नरहेको कर्मचारीको भनाइ थियो। सो नाकाबाट तरकारी, कपडा, बिस्कुट र कहिलेकाहीँ मेसीनरी सामान आउने गरेको कर्मचारीको भनाइ छ। गाेरखापत्रमा खबर छ।