त्रिभुवन विमानस्थलबाट हुने सुन तस्करी चुडामणि उप्रेति ‘गोरे’ को पक्राउसँगै सेलाएकोमा केही समययता सुन तस्करहरु फेरि सक्रिय भएका छन्। प्रहरीले उक्त ३३ किलो सुन तस्करी काण्डपछि विमानस्थलमार्फत् हुने तस्करी रोकिएको दाबी गरेपनि तस्करले विभिन्न तरिका अपनाएर तस्करीलाई निरन्तरता दिएका हुन्।
पछिल्लोपटक प्रहरीले बिहीबार राति साढे १० बजे ८ किलो सुनसहित २ चिनिया नागरिकलाई पक्राउ गरेको छ । हङकङबाट आएको नेपाल एयरलाइन्सको आरए ४१० नम्बरको फ्लाइटबाट आउँदै गरेका चेन होङयाङ र चेन इचुहाङलाई पक्राउ गरिएको हो।
गत असारमा मात्र प्रहरीले डाइपरमा लुकाएर ल्याइएको अवस्थामा ५ सय ग्राम सुनसहित मोरङका लीलाबहादुर बस्नेत पक्राउ परेका हुन्। खाडी मुलुकमा कामदार भिषामा भएका व्यक्तिहरु प्रयोग गरेर फाट्टफुट्ट रुपमा सुन तस्करी हुने गरेकोमा अहिले ठूलो परिणामा सुन बरामद भएको हो।
गत पुसमा पनि कतार एयरवेजबाट काठमाडौ आएका चितवनका अमित घिसिङबाट ५१२ ग्राम सुन बरामद भएको थियो।
यस्तै, गत भदौमा पनि त्रिभुवन विमानस्थल भत्सार कार्यालयले कतारको दोहाबाट आएका हेमबहादुर गुरुङबाट एक किलो ४ सय ग्राम सुन बरामद भएको थियो।
पछिल्लो समय प्रहरीले सुन तस्करीविरुद्ध अपरेशन थालेपछि तस्करी गर्ने समूहले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई प्रयोग गरेर स–सानाको परिणाममा सुन भित्र्याउने गरेका छन् ।
यसका साथै नेपालका विभिन्न दुई देशीय नाकाहरुबाट सुन तस्की हुने गरेको पाइएको छ।