राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको अवस्थामा छ । अहिले यो विमानस्थलको ८४ दशमलव २५ प्रतिशत निर्माणको काम सकिएको छ । टर्मिनल भवन फिनिसिङ, प्राविधिक उपकरण जडानलगायत बाँकी काम धमाधम भइरहेको छ ।
सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा यो विमानस्थल सञ्चालन गर्ने गरी पूर्वाधार निर्माणको काम तीव्रगतिमा भइरहेको छ । सन् २०२० को मार्चभित्रै विमानस्थल सञ्चालन गर्ने गरी कामको गति बढाइएको छ । पूर्वाधार निर्माण सकेर त्यसको ३ महिनापछि व्यावसायिक उडान थाल्ने योजना बनाएको आयोजनालाई प्रभावकारी बनाउन नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले विशेष प्राथमिकतामा राखेर उच्च अधिकारीलाई जिम्मेवारी दिएको छ ।
आयोजनाको तयारीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीलाई प्राधिकरणको केन्द्रीय कार्यालयमा ल्याइएको छ । गौतमबुद्ध विमानस्थलको प्रमुखको जिम्मेवारी दिइएका तिवारीले प्राधिकरणका महानिर्देशक राजन पोखरेलको मातहतमा रहेर गौतमबुद्ध विमानस्थलको शीघ्र सञ्चालनको तयारीका लागि आवश्यक सहजकर्ताको काम गर्नेछन् ।
गौतम बुद्ध विमानस्थलको पछिल्लो प्रगतिबारे जानकारी दिँदै तिवारीले विमानस्थलको व्यावसायिक उडान सञ्चालनका आवश्यक पूर्वाधार तथा प्राविधिक उपकरण जडानको कामलाई तीव्रता दिइने बताए । तिवारीसहित प्राधिकरणका अन्य धेरै उच्च तहका कर्मचारीलाई विभिन्न विभागको जिम्मेवारी हेर्नेगरी सरुवा गरिएको छ ।
अहिलेकै अवस्थामा निर्धारित समयभित्र उडान भर्न कठिनाइ रहेको उल्लेख गर्दै उनले भौतिक पूर्वाधारको प्रगति रहे पनि विमानस्थलमा सञ्चारका उपकरण जडानका लागि लामो समय लाग्ने बताए । अबको ९ महिनापछि मात्रै विमानस्थलमा व्यावसायिक उडान सञ्चालन गर्न सकिने उनको भनाइ छ ।
तर, हाल गौतमबुद्ध विमानस्थलको आयोजना प्रमुखका रूपमा काम गरिरहेका प्रवेश अधिकारीले विमानस्थल निर्माणको समग्रतामा ८४ दशमलव २५ प्रतिशत प्रगति भएको जानकारी दिए । उनका अनुसार अबको मुख्य काम विमानस्थलको टर्मिनल भवनको फिनिसिङ, टर्मिनल भवनभित्र जडान हुने केही उपकरण तथा धावनमार्ग र ट्याक्सी वेको काम धमाधम भइरहेको छ । दुवै सत्रमा काम भइरहेको विमानस्थलमा रातिको समयमा टर्मिनल फिनिसिङको काम भइरहेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पनि गौतमबुद्ध विमानस्थल शीघ्र सञ्चालनका लागि विशेष प्राथमिकता दिएको र भ्रमण वर्षको शुभारम्भसँगै विमानस्थल पनि व्यावसायिक प्रयोजनमा ल्याइने बताउँदै आएका छन् ।
डिसेम्बरभित्र भौतिक संरचना निर्माण सक्ने र उपकरण जडानका समेत काम सकेर सन् २०२० मार्च अन्त्यतिर सञ्चालनमा ल्याउने तयारी गरिएको आयोजना प्रमुख अधिकारीले बताए ।
सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को सुरुमा उद्घाटन भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरबाहीले रोकिएको थियो । पछि २ वर्षको निर्माण समयावधि थपिएको थियो । आयोजनका लागि दुवै चरणमा गरी ७ अर्ब ३२ करोड रुपैयाँको हाराहारीमा खर्च हुने जनाइएको छ । -रासस