भ्रमण वर्ष २०२० सुरु हुन एक महिना बाँकी रहँदा यसको औपचारिक उद्घाटन स्थलको टुङ्गो लागेको छ।
सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बसेको भ्रमण वर्षको मूल आयोजक समितिको बैठकले राजधानीको दशरथ रङ्गशालामा जनवरी १ मा औपचारिक उद्घाटन गर्ने निर्णय गरेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्ने कार्यक्रममा ४० भन्दा बढी देशका पर्यटन मन्त्रीलाई समेत अतिथिका रूपमा आमन्त्रण गर्ने तयारी गरिएको छ।
काठमाडौँका विभिन्न स्थानबाट एकैपटक झाँकी प्रदर्शनी पनि हुने योजना बनाइएको छ। विदेशमा नेपालको कूटनीतिक उपस्थिति रहेका ठाउँमा जनवरी ७ मा औपचारिक रूपमा भ्रमण वर्षको उद्घाटन कार्यक्रम राखिने भएको छ। राजधानीबाहेक देशैभर प्रदेश र स्थानीय तहमा पनि औपचारिक उदघाटन कार्यक्रम गर्ने निर्णय समितिले गरेको छ। भ्रमण वर्षका अवसरमा नेपाल भित्रिने पर्यटकलाई अलि फरक तरिकाबाट स्वागत गर्ने निर्णय पनि समितिले गरेको छ।
भ्रमण वर्षसँग सम्बन्धित गीत तयार गर्ने, नेपाल भित्रिने जहाजमा नेपालबारे जानकारी दिने अडियो प्रस्तुत गर्ने, बाह्रै महिना सरसफाइ कार्यक्रम चलाउने, सम्भव भए विश्वकै अग्लो बुर्ज खालिफा टावरमा भ्रमण वर्षको प्रस्तुति राख्ने योजना पनि तयार भएको छ। सरकारले २० लाख पर्यटक भित्राउने लक्ष्यसहित सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेको छ।