एक महिना लगाएर बाजुरा र जुम्लाबाट दार्चुलाको जौलजीवी मेलामा ल्याइएका जुम्ली घोडाको व्यापार घटेको छ । घोडा व्यापारका लागि प्रसिद्ध मानिएको जौलजीवी मेलामा यो वर्ष घोडा खरिद गर्न व्यापारी नै नआएपछि जुम्ली घोडाको व्यापार घटेको हो ।
विगतमा सयौं घोडाको व्यापार हुँदै आएको जौलजीवी मेलामा गाउँगाउँसम्म सडक पहुँच पुगेसँगै घोडाप्रतिको आकर्षण घटेको हो । गत वर्षदेखि नै जौलजीवी मेलामा घोडाको व्यापार कम हुँदै आएको छ ।
व्यापारीहरूले गाउँबाट खरिद गरेरै केही बढी मूल्यमा बिक्री गर्ने गरी घोडा ल्याएका हुन् । मेलामा घोडा बिक्री नभएपछि ऋण कसरी तिर्ने र कहाँ लगेर घोडा बिक्री गर्ने भन्ने चिन्ताले व्यापारीहरूलाई सताएको छ ।
अहिले १० हजारदेखि २० हजार भारतीय रुपैयाँमा समेत घोडा बिक्री नभएको व्यापारी बताउँछन् । विगतमा तिनै घोडा ५० हजार भारुमा बिक्री हुने गर्थ्यो । सयौं वर्षदेखि यही क्षेत्रमा घोडाको व्यापार हुने हुँदा ठाउँकै नाम घोडेबगर राखिएको छ ।
तीन देशको व्यापार हुने क्षेत्रका रूपमा जौलजीवी मेला लिइन्छ । झन्डै ११० वर्षदेखि यो क्षेत्रमा निरन्तर मेला लाग्दै आएको छ । -रासस