नेपाली बजारमा सुनचाँदीको भाउ घटबढ भइरहनु सामान्य हो । आज नेपाली बजारमा सुनचाँदीको भाउ अलिअलि भए पनि घटेको छ ।
बिहे लगनको महिना मानिने मंसिरमा सुनचाँदी खरिदबिक्री राम्रैसँग हुन्छ । यो सुनचाँदी व्यवसायीको सिजनको महिना पनि हो । आज सुनमा प्रतितोला सय रुपैयाँ र चाँदीमा प्रतितोला ५ रुपैयाँले घटेर कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनचाँदीको भाउ थोरै घटे पनि कारोबार राम्रै हुन सक्ने व्यवसायीहरुको अपेक्षा छ ।
आज छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार हिजो (बुधबार) छापावाल सुन प्रतितोला ७२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो भने ७१ हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
यता चाँदी प्रतितोला ५ रुपैयाँले घटेर कारोबार भइरहेको छ । हिजो प्रतितवला ८ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज भने ५ रुपैयाँले घट्दै प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बिहेको लगनको मुखैमा सुनचाँदीको भाउ अलिअलि भए पनि घट्दा उपभोक्तालाई केही राहत भएको छ ।