यातायात व्यवस्था विभागले पहिलोपटक विद्युतीय ट्याक्सीलाई समेत समेटेर ट्याक्सीको नयाँ मापदण्ड तयार पारेको छ। आगामी दिनमा नयाँ ट्याक्सीको दर्ता खुले विद्युतीय ट्याक्सी समेत दर्ता गर्न पाउने गरी १२०० सीसीभन्दा कम क्षमताका इन्धनबाट चल्ने ट्याक्सी सञ्चालन गर्न नपाइने व्यवस्थासहित मापदण्ड तयार पारिएको हो।
मापदण्ड तयार भइसकेकाले शुक्रवारसम्म कार्यान्वयनमा ल्याउने तयारी विभागको छ। ‘नयाँ मापदण्ड तयार भइसकेकाले शुक्रवारसम्म कार्यान्वयनमा ल्याउँछौं,’ विभागका महानिर्देशक गोगनबहादुर हमालले भने। उनका अनुसार सामान्य गाडीमा हुने सबै विशेषता, उच्च इन्जिन क्षमता र ग्राउन्ड क्लीरेन्स, भित्री भागमा ठूलो स्पेश, अनिवार्य सुरक्षा फिचर्स, विभिन्न स्मार्ट प्रणाली, एसी लगायतको सुविधासहित यात्रा गर्न सहज हुने गरी ट्याक्सीको नयाँ मापदण्ड तयार गरिएको छ। मापदण्डमा काठमाडौंलाई सुहाउँदो, वातावारणमैत्री र यात्रुलाई आकर्षित गर्ने अत्याधुनिक सुविधाहरू ट्याक्सीमा हुनुपर्ने कुरा समेटिएको उनले बताए।
विभागले २०७५ चैतमा नै ट्याक्सीको नयाँ मापदण्ड बनाएर यातायात व्यवस्था विभागमा पठाएको थियो। नयाँ ट्याक्सी दर्ता खोल्न प्रस्तावसहित विभागमा ट्याक्सीको मापदण्ड पठाइएको थियो। मन्त्रालयले ट्याक्सीको मापदण्ड विभागकै अधिकार भएको भन्दै १ महीना अगाडि मस्यौदा विभागमै फिर्ता पठाएको थियो।
मापदण्ड तयार भए पनि नयाँ ट्याक्सी दर्ता नखुल्दा ट्याक्सीमा रहेको सिन्डिकेट भने कायम रहने देखिन्छ। ट्याक्सीमा सिन्डिकेट कायम भएको भन्दै उक्त सिन्डिकेट तोड्ने गरी मापदण्ड बनाई नयाँ ट्याक्सी दर्ता खोल्ने प्रस्ताव मन्त्रालयमा पठाएकोमा मन्त्रालयले नयाँ ट्याक्सी दर्तासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा नलगेको विभाग स्रोतले बताएको छ। व्यवसायीको दबाब र आर्थिक प्रभावका कारण राज्यले नै नयाँ ट्याक्सीमा सिन्डिकेट कायम गरिरहेको आरोप स्रोतको छ।
हाल राजधानीमा करीब ९ हजार ट्याक्सी सञ्चालनमा छन्। सरकारले २०५७ देखि नयाँ ट्याक्सी दर्ता रोकेकोमा २०७२ मा ३ हजार ३५० ओटा ट्याक्सी थपेको थियो। आर्थिक अभियानमा खबर छ।